म्याग्दीमा शैक्षिक सत्र २०८० सुरु भएको पहिलो दिनमा विद्यालयमा प्रवेश गरेका विद्यार्थीले पाठ्यपुस्तक पाएका छन्। विगतका बर्षमा भर्ना अभियानको केही समयपछि मात्रै विद्यार्थीको हातमा पुस्तक पुग्ने गरेकोमा यसपटक शैक्षिक सत्र सुरु हुनु अगावै जिल्लामा आवश्यक पर्ने पाठ्यपुस्तक आइपुगेपछि वितरण गरिएको हो ।

जिल्लाको कक्षा १–१० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर आवश्यक पुस्तकहरु सबै विद्यालयमा पुगेको छ । म्याग्दी सदरमुकाम बेनीमा पुस्तक बिक्री डिपो राखेर नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले पालिकाको केन्द्र हुदै विद्यालयसम्म पाठ्यपुस्तक पुर्याएको छ ।

यता विद्यालयमा समयमै पुस्तक उपलब्ध भएपछि शैक्षिक गतिविधिमा सहज भएको मंगला गाउँपालिका–१ कुहुँ पुर्णगाउँका प्रधानध्यापक टेक राम्जालीले बताए ।

‘पुस्तकले विद्यार्थीलाई स्वागत गरियो,अब नियमित पठनपाठन सुरु हुन्छ’प्रअ राम्जालीले भने । त्यस्तै उत्तरी म्याग्दीको ज्ञानप्रकाश माविका प्रधानध्यापक शान्त नेपालीले समेत समयमै पाठ्यपुस्तक उपलब्ध भएकाले सबै विद्यार्थीलाई वितरण गरिएको बताए ।

‘पुस्तक पाएपछि विद्यार्थी उत्साहित छन्,‘नियमित गतिविधिमा समेत सहज हुन्छ’ प्रअ नेपालीले भने । उनका अनुसार पुस्तक भएपछि नियमित शैक्षिक तालिकालाई सहज हुने र गतिविधिमा केन्द्रित हुने बताए।

म्याग्दीमा पुस्तक व्यवसायी महासंघको पहलमा ९० लाख रुपैयाँको लागतमा जिल्लामा सरकारी पाठ्यपुस्तक ल्याइएको छ । कक्षा १–५ को सबै पुस्तकहरु जिल्ला भित्रिएकोमा कक्षा ६–१० को पाठ्यपुस्तक विद्यालयमा पुगेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले बताए । उनका अनुसार यसपटक पुस्तक समयमै उपलब्ध हुदाँ भर्ना अभियान समेत प्रभावकारी हुने बताए ।

म्याग्दीलाई चाहिने करिब १५ हजार सेट पुस्तक आवश्यकता पर्नेमा आवश्यक अधिकांस पुस्तक उपलब्ध रहेको छ । जिल्ला भित्रिएको पाठ्यपुस्तकहरु दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर वितरण गरिएकाले समेत समयमै दुर्गममा पुस्तक पुगेको छ। एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा सामुदायिक, संस्थागत, क्याम्पस, अनौपचारिक, धार्मिक र संस्कृत गरी कुल २ सय ६३ वटा शैक्षिक संस्थाहरु सञ्चालनमा रहेका छन् ।

Leave a Reply