म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको गजुरे सामुदायिक बनमा भीषण आगलागी भएको छ। आइतबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेले नियन्णमा जुटेका छन् ।

सामुदायिक बनबाट सुरु भएको आगो फैलिँदै भकिम्लीको हल्लेगौडा, पोलधारा, सल्देना लगायतका बस्ती आसपासका क्षेत्रमा पुगेको छ । प्रतिकुल मौसमका कारण दिउँसो केहीबेर नियन्त्रणमा रहेको आगलागी साझँपख नियन्त्रण बाहिर गएको भकिम्लीका स्थानीय यूवा याम घर्तीमगरले बेनीअनलाइनलाई जानकारी दिए ।

‘अहिलेसम्म कम्तीमा १२ हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ,‘बस्तीमा पुग्न नदिन गाउँले नियन्त्रणमा जुटेका छन्’उनले भने । आगलागीबाट जोखिममा रहेको बस्ती आसपासका क्षेत्रमा घरेलु औजार सहित टोली पुगेको वडा अध्यक्ष पदम पुनले बताए ।

‘मानवीय क्षती हुनबाट जोगाउने प्रयासमा छौ, सामान्य अवस्थामा आगलागीलाई नियन्त्रण गर्न सकिने अवस्था छैन’ वडा अध्यक्ष पुनले भने । आगलागीले सामुदायिक बन सखाप पारेको छ ।‘हावा चलेपछि आगोले झनै तीव्र गतिमा फैलिएको छ,घरेलु सामाग्रीको भरमा मात्र नियन्त्रणमा कठिन भएको छ’ अध्यक्ष पुनले भने ।

बस्तीमा पस्न नदिनका लागि प्रयास भइरहेको छ । यता डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले आगलागी क्षेत्रमा कर्मचारी पठाइएपनि भिरालो जमिन भएकाले निभाउन जान अप्ठेरो परेको बताए ।

आकाशबाट पानी नपरेसम्म आगो सहजै निभ्ने अवस्था नभएकाले अहिलेको प्राथमिकता बस्ती जोगाउने भएको बताए ।‘सुख्खा र भीर भएकोले पनि सहजै निभाउन सकिएको छैन।

भीरका कारण मानवीय जोखिमलाई ध्यान दिन अनुरोध गरेका छौ’ प्रमुख रानाभाटले भने । आगो कसले र किन लगाएको भन्नेबारे पनि नखुलेको स्थानीयको भनाई छ ।

गाउँलेहरुले बस्तीमा आगो पस्ने त्रासले बस्ती आसपासका क्षेत्रमा अग्नीरेखा बनाउन जुटेका छन् । उक्त सामुदायिक बनमा बादर, खरायो, मृग लगायतका जनावर र चराचुरुङगीको वासस्थान थियो। सुकेका रुखका मुढाका कारण आगो लामो समय रहिरहेको छ ।

आइतबार दिउँसो सामान्य बर्ष भएको अवस्थामा आगो नियन्त्रणको अनुमान गरिएको थियो । यसैबीच यसबर्ष जिल्लाभर करिब ७० हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ । भकिम्लीमा लागेको डढेलोका सदरमुकाम बेनी आपासका क्षेत्रमा वायु प्रदुषण बढेको छ ।

Leave a Reply