बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा मोटरसाएकलको ठक्करबाट एक पोथी चितुवा मरेको छ। मंगलबार साँझ अन्दाजी साढे ७ बजे बागलुङबाट आउँदै गरेको मोटरसाइकलको ठक्करबाट चितुवा मरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडकमा गुडिरहेको मोटरसाइकल र चितुवा ठोकिएपछि चितुवा मरेको खवर आएपछि डिभिजन बन कार्यालय म्याग्दीका प्रतिनिधि राजेन्द्र सापकोटा सहितको टोली घटनास्थलमा पुगेको थियो ।मोटरसाइकलको अघिल्लो भागमा चितुवाको टाउको ठोकिएको बताइएको छ । मोटरसाइकलका चालक भने सुरक्षित छन् ।

अन्दाजी ३५–४० केजीको चितुवा करिब २ बर्ष उमेरको रहेको अनुमान गरिएको छ । मृत चितुवालाई डिभिजन वन कार्यालयलमा राखिएको र बुधबार मुचुल्का तयार गरी व्यवस्थापन गरिएको कार्यालय प्रमुख मनोज रानाभाटले बताए ।

‘यो दुर्घटना जस्तो देखिन्छ, आज राती भएकाले भोली घटनास्थलको मुचुल्का तयार हुन्छ, मोटरसाइकल चालकलाई समेत सोझपुछ गरिन्छ’ प्रमुख रानाभाटले भने । साँझपख बाटो काट्ने क्रममा ठक्कर दिएको हुनसक्ने बताउँदै घटनाको विषयमा थप अनुसन्धान गरी जानकारी दिने प्रमुख रानाभाटको भनाई छ ।

म्याग्दीमा जंगल आसपासमा क्षेत्रमा बस्ती विस्तार हुदाँ चितुवाको आफ्नो बासस्थान सुरक्षित नहुनु र अर्को चितुवाको आहार प्रजातिमा उल्लेखनीय कमी आउनु,चितुवाको प्रकृतिक आनीबानीमा परिवर्तनले समेत पैदल वा सवारीसाधनमा यात्रा गरेका यात्रुलाई समेत झन्टिने गरेको प्रमुख रानाभाटले बताए ।

सडकमा ठोएिको घटना आकस्मिक भएको बताउँदै प्रमुख रानाभाटले बनजंगलमा लागेको डढेलोका कारण समेत अहिले बासस्थान खलबलिएको अवस्थामा मानव–चितुवाको जम्काभेट हुनसक्ने बताए । म्याग्दीमा चितुवाको संख्या बढेकाले आहाराको खोजीमा बस्ती आसपासमा र घरपालुवा जनावरमा क्षती पु¥याउने गरेको छ ।

चितुवा जस्तोसुकै अवस्थामा पनि करिब १५ दिनसम्म भोकभोकै बस्न सक्ने भएकाले संख्या बढ्दो क्रममा रहेको कार्यालय प्रमुख रानाभाटको भनाई छ । बेनी–बागलुङ सडकखण्डमा चितुवाको संख्या अत्याधिक छ । विगतमा समेत चितुवाको आक्रमणबाट धेरै स्थानीय जोगिएका छन् ।

 

Leave a Reply