नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत पालिकास्तरमा समीक्षा सुरु भएको छ । गएको फागुन महिनाको पहिलो सातादेखि म्याग्दीमा सुरु भएको मिसन ग्रासरुट अभियानको बारेमा वडा र टोलस्तरमा भएका गतिविधिबारे पालिकास्तरमा समीक्षा गरिएको हो।

यसैक्रममा मंगलबार पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा एमालेको मिसन ग्रासरुटको पालिकास्तरीय समीक्षा सम्पन्न भएको छ । यसअघि सोमबार मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा समीक्षा गरिएको थियो । मिसन ग्रासरुटको समीक्षा कार्यक्रमलाई एमालेको केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरका नेताहरुले सम्बोधन र रिपोर्टिङ गरेका छन् ।

मालिकामा आयोजित मिसन ग्रासरुट अभियानको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले आफूलाई पार्टीले दिएको जिम्मेवारीअनुसार पश्चिम म्याग्दीको १९ वटा वडामा खटिएर जनतासँग नजिकमा रही जनचासोका विषयवस्तुको बारेमा जानकारी समेत हासिल गरेको बताउनुभयो । उहाँले दुर्गमका वडा, टोल र वस्तीस्तरमा पुगेर पार्टीको नीति, सिद्धान्त एवं सरकारमा रहँदा गरेका कामहरुको बारेमा जानकारी गराउँदै जनताको समस्या, अपेक्षा र गुनासाहरु सङ्कलन गरेको बताउनुभयो ।

मिसन ग्रासरुट कार्यक्रममा एमालेको तर्फदेखि म्याग्दीमा प्रतिनिधिका रुपमा खटिनुभएका केन्द्रीय सदस्य गौचनले मिसन ग्रासरुटमार्फत नजिकबाट जनताको समस्याहरु बुझेको हुनाले समाधानका लागि समेत पहल थालिएको बताउनुभयो ।

उहाँले एमाले पार्टीलाई अझ सशक्त बनाउँदै जनताका वास्तविक मुद्दाको पहिचानसहित आगामी चुनावमा बहुमत ल्याउने प्रणका साथ थालिएको मिसन ग्रासरुट अभियानले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउन सहयोग पुग्ने बताउनुभयो ।

सोही समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जनताको सरोकारका प्रश्नलाई केन्द्रविन्दुमा राखेर पार्टीलाई बलियो बनाउने गरी मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले मिसन ग्रासरुटअन्तर्गत पार्टीलाई पुनर्जागरण प्रदान गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको बताउँदै यसबाट पार्टी सङ्गठनलाई थप बलियो बनाएर अगाडि बढ्नुका साथै जनताका समस्याहरु सङ्कलन गरी समाधानतर्फ अगाडि बढ्ने पार्टीको अभियान समेत रहेको बताउनुभयो ।

एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले निर्वाचनपछि नेताहरु गाउँ फर्कदैनन् भन्ने जनअपेक्षालाई मिसन ग्रासरुटले परिवर्तन गरेको बताउँदै आउँदो निर्वाचनबाट म्याग्दीमा पुनः एमालेको उदय हुने बताउनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य देवबहादुर घले, एमाले म्याग्दीका उपसचिव थमसरा पुन, जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रदेश समन्वय कमिटी क्षेत्र (ख)को संयोजक खरमाया बिटालुलगायत नेताहरुको सहभागिता रहेको थियो ।

एमाले मालिका गाउँपालिका कमिटी अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षता, सचिव सन्तनाथ सुवेदीको सञ्चालन र गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले स्वागत गरेको कार्यक्रममा वडा कमिटीका अध्यक्षहरुले वडा, टोल र वस्तीस्तरमा भएका मिसन ग्रासरुटसम्बन्धी कार्यक्रमबारे रिपोर्टिङ गरेका थिए ।

सोही अवसरमा धवलागिरि गाउँपालिकाको मराङ र मल्कबाङमा सञ्चालित मिसन ग्रासरुट अभियानको बारेमा इन्चार्ज ईश्वर सुवेदीले पनि रिपोर्टिङ गर्नुभएको थियो ।

Leave a Reply