महिलालाई आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा सक्षम बनाउन सहकारी उपयुक्त र प्रभावकारी माध्यम रहेको म्याग्दीका महिलाले बताएका छन् । सामाजिक विकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिकासँगको सहकार्य तथा मिलन म्याग्दीको व्यवस्थापनमा सञ्चालन भएको दुई दिने सहकारीको संस्थागत विकास तथा अभिमुखीकरणका अवसरमा यहाँ आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलाको क्षमता अभिबृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ दानामा भएको महिलालाई संगठित गरी क्षमता विकाससँगै आयआर्जन गर्न, वचत गर्न तथा सामाजिक रुपमा सक्षम बनाउन सहकारी प्रभावकारी र भरपर्दो माध्यम भएको उहाँको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिका ३ का अध्यक्ष रमेश पुर्जाले सहकारी समाज रुपान्तरणको महत्वपूर्ण माध्यम भएको बताउनुभयो । सहकारी सञ्चालनका विधि तथा प्रक्रियाहरु नजानेर वा जानेर पनि वेवास्ता गरेका कारण सहकारी क्षेत्रमा समस्या सिर्जना भएको उहाँको भनाइ छ ।

तालिमका सहजकर्ता राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी.ले सहकारीमार्फत सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणका लागि सञ्चालक र व्यवस्थापनले सदस्यहरुको क्षमता विकाससँगै आयआर्जन वृद्धि गर्नेखालका कार्यक्रम बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा  मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु, अन्नपुर्ण गाउँपालिकाको दाना र नारच्याङमा रहेका महिला सहकारीका सञ्चालक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply