चिकित्सक गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन्। मंगलबार निसीखोला आएका डा. केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन्।

केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिए। केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुगेका हुन्। डा. केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिए।

डा. केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका लागि यहाँ आएका थिए। आफू यो समय फुर्सदमा भएकाले निसीखोला आएको उनको भनाइ छ। ‘पहिला बोबाङमा बिरामीको उपचार गरेको थिएँ, त्यसबेला यहाँका सर्वसाधारणले निसीखोला पनि आउनुपर्‍यो भनेका थिए’, उनले भने, ‘अहिले मेसो मिल्यो, त्यसैले आएँ।’

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले डा. केसीले यहाँ तीन दिन बिरामीको उपचार गर्ने बताएपछि गाउँपालिकाले औषधीको व्यवस्थापन गरेको जानकारी दिए। ‘उहाँ एक्कासी बोहोरागाउँ स्वास्थ्यचौकीमा आएपछि थाहा भयो, उहाँले हाडजोर्नी र नसासम्बन्धी बिरामीको उपचार गर्दै हुनुहुन्छ’, अध्यक्ष घर्तीमगरले भने ‘बिरामी आउन थालेका छन्। हामीले एक लाख बराबरको औषधी व्यवस्थापन गरेका छौँ।’

Leave a Reply