म्याग्दीको गुर्जा र हिमालपारीको जिल्ला मुस्ताङमा आज (शुक्रवार) बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । लामो समयपछि भएको वर्षा र हिमपातका कारण स्थानीय कृषक र पर्यटन व्यवसायीहरु खुसी भएका छन् भने मुक्तिनाथ दर्शनका लागि गएका तीर्थयात्रीहरुलाई भने समस्या भएको मुक्तिनाथ दर्शनका लागि जानुभएका श्यामनारायण निरौलाले जानकारी दिनुभयो ।

म्याग्दीको गुर्जा लगाएत उच्च लेकाली क्षेत्रहरुमा हल्का हिमपात भएको धौलागिरि गाउँपालिका वडा नं १ गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले बताउनुभयो । उता पाँचवटा स्थानीय तह रहेको मुस्ताङका सबै ठाउँमा वर्षा र हिमपात भएको जोमसोमका टीकाबहादुर शेरचनले बताउनुभयो । उहाँका अनुसार उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङको लेतेसम्म नै हल्का हिमपात र वर्षा भएको हो ।

शुक्रबार बिहानैदेखिको निरन्तर वर्षा र उच्चलेंकमा भएको हिमपातका कारण पर्यटकहरु रमाइरहेका छन्। हिउँ जम्ने गरी भने हिमपात हुन नसकेको स्थानीय टेकबहादुर शिर्पालीले बताउनुभयो ।
मुस्ताङको घरपझोङ,थासाङ गाउँपालिकाका लेकाली क्षेत्रहरुमा अहिले पनि (दिउँसो) हिमपात भइरहेको थासाङका टीका हिराचनले जानकारी दिनुभयो ।

त्यसैगरी वारागुङ मुक्तिक्षेत्रको कागबेनी देखि मुक्तिनाथक्षेत्र लगायतका उच्चलेंकका गाउँ खर्कहरुमा बिहानैदेखि वर्षासंगै हिमपात भएको जनाइएको छ ।म्याग्दीका उच्च लेकाली क्षेत्रहरुमा पनि सामान्य हिमपात भएको स्थानीयले बताएका छन् । लामो खडेरी र एक सातादेखिको तुवाँलोका कारण प्रदुषित बनेको वातावरण वर्षा भए पछि सामान्य अवस्थामा फर्किने भएकोले स्थानीयवासी खुसी भएका छन् ।

Leave a Reply