नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले हिँजो (शनिवार) पार्टी स्थापना दिवस मनाएको छ। नेपालमा तत्कालीन २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष पुरा गरी ७५ वर्षमा प्रवेश गरेको सुखद अवसरमा स्थापना दिवस मनाइएको हो ।

दिवसको अवसरमा पार्टी कार्यालय शहिद स्मृति भवन हाँडेभीरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाइएको नेकपा एमाले म्याग्दीले जनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थापकहरुको तस्विरमा माल्यार्पण गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी सङ्गठनलाई बलियो बनाउन सकेमा संस्थापकहरुको सपना पुरा हुने बताइन्।

पूर्व मन्त्री समेत रहेकी स्थायी कमिटी सदस्य थापाले पार्टीको निर्देशनअनुसार काम गर्नुपर्ने र नेपाली जनताको चाहना पुरा गर्न सकेमा शहिद तथा कम्युनिष्ट पार्टीका संस्थापकहरुले पु¥याएको योगदानको कदरका साथै उहाँहरुको सपना पनि साकार हुनेमा जोड दिइन् ।

नेपालमा स्थापना भएका कम्युनिष्ट पार्टीले नेतृत्व गरेका सरकारहरुले अन्य पार्टीहरुको तुलनामा जनपक्षीय र देश विकासका लागि कामहरु गरेको बताउँदै उनले त्यसमा पनि एमालेको नेतृत्वमा बनेका सरकारले धेरै राम्रा कामहरु गरेको दावी गरेकी छन् ।

कार्यक्रम एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिव सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला सहइन्चार्ज नरदेवी पुन, एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यहरु हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ र देवबहादुर घलेको विशेष उपस्थिति रहेको थियो ।

आजभन्दा ७४ वर्षअघि आजकै दिन २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । राणाशासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी लगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए भने महासचिव पुष्पलाल श्रेष्ठ बने ।

२०१५ सालमा भएको पहिलो आम निर्वाचनमा कम्युनिष्ट पार्टीले ४ सिट जितेको थियो । त्यसक्रममा केशरजङ्ग रायमाझीले पञ्चायती व्यवस्थाको समर्थन गरेलगत्तै कम्युनिष्ट पार्टी औपचारिक विभाजन भएको थियो ।

नेपालका कम्युनिष्ट पार्टीहरु धेरैपटक फुट र जुटको शृङ्खलामा सामेल भएका छन् । शृङ्खलाबद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको टीका–टिप्पणी हुँदै आएको छ । २०७४ सालको निर्वाचनमा गठबन्धन बनाएर गएका एमाले र माओवादी केन्द्र २०७५ सालको जेठ ३ गते एउटै पार्टी बनाउन सफल भए पनि फेरि अलग पार्टी भए ।

यसअघि शुक्रवार एमाले म्याग्दीको मिसन ग्रासरुटको जिल्लास्तरीय समीक्षा वैठक पनि सम्पन्न भएको छ । वैठकलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रीय सदस्य चन्द्रमोहन गौचन, गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, सन्तोष रावलले समीक्षात्मक मन्तव्यसहित सम्बोधन गरेका थिए । समीक्षा वैठक तथा कार्यक्रम पार्टी अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र उपसचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply