---Advertisement---

मुनामा २ दिने स्तन तथा पाठेघर सम्बन्धि शिविर सुरु

On: April 23, 2023 6:04 PM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समिति अन्तरगको महिला विभागको आयोजनामा आइतबारदेखि पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकामा २ दिने स्तन तथा पाठेघर सम्बन्धि शिविर सुरु भएको छ ।

ग्रामिण क्षेत्रमा अशिक्षा र जनचेतनाको अभावका कारण महिलामा पाठेघर (आङ) खस्ने समस्या बिकराल बन्दै गएपछि मोनाले सुरु गरेको स्वास्थ्य शिविरको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष प्रेम पुनले जनचेतनाको अभावका कारण रोग लुकाउन बाध्य भएका महिलालाई शिविरले राहत मिलेको बताउनुभयो।

शिविरमा गाउँपालिका उपाध्यक्ष रेशम पुन, प्रमुख प्रशासकीय अधिकृत धुब्र रिजाल लगायतको उपस्थिती रहेको थियो । शिविरको पहिलो दिन १ सय ३१ जनाले सेवा लिएको मोना आइइसी मलेसिया प्रतिनिधि पूर्ण रोकाले जानकारी दिनुभयो ।

शिविरको उद्घाटन कार्यक्रमको सञ्चालन मोना आइइसीका सचिव सुबोध बरुवालले गर्नुभएको थियो । काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा हुने शिविरमा पाठेघर र स्तनमा समस्या भएकालाई थप उपचारका लागि रिफर गरिने छ ।

शिविरमा काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको डा. किशोरकुमार प्रधानाङ्गको नेतृत्वमा ४ जनाको टोली खटिएको छ ।डा. प्रधानाङ्गले म्याग्दीको ग्रामिण क्षेत्रमा पाठेघरको समस्या भएका महिला भेटिएका बताउनुभयो । जनचेतनाको अभावका कारण पाठेघरमा समस्या देखिएका महिलाहरु भेटिएको बताउँदै शिविरमा आएर उपचार गर्न समेत अनुरोध गर्नुभएको छ ।

पाठेघर खस्ने र स्तनमा समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेकाले यो शिविर म्याग्दीका ५ वटै गाउँपालिका र बेनी नगरपालिकामा आयोजना गरिएको मोना आइइसीका अध्यक्ष अम्मर छन्त्यालले बताउनुभयो ।

स्थानीय तहसँग समन्वय गरी भइरहेको शिविरबाट लाभ लिन समेत सबै वडामार्फत लक्षित बर्गलाई अनुरोध गरिएको छ । धवलागिरी गापाको केन्द्र मुनामा बैशाख १० र ११ गते,बैशाख १२ र १३ गते दरबाङ, बैशाख १४ र १५ बावियाचौर र बैशाख १६ र १७ गते बेनी नगरपालिका–२मा शिविर सञ्चालन गरिने छ ।