म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापक पदमा शिव बानियाँ नियुक्त हुनुभएको छ । आज (आइतबार) बसेको विद्यालय व्यवस्थापन समितिको वैठकले शिक्षक पदमा कार्यरत बानियाँलाई सहायक प्रधानाध्यापकको जिम्मेवारी दिएको हो ।

विव्यस अध्यक्ष गोपाल बानियाँको अध्यक्षतामा बसेको वैठकले शिव बानियाँलाई सहायक प्रधानाध्यापक पदको जिम्मेवारी दिने निर्णय गरेको जनकल्याण माविका प्रधानाध्यापक कमलप्रसाद पौडेलले जानकारी दिनुभयो । वैठकमा पुलाचौरका वडा सदस्य देवीदत्त पौडेल, विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष तिलकप्रसाद श्रेष्ठ, जनकल्याण मावि अक्षयकोषका अध्यक्ष गजिन्द्र श्रेष्ठ र विव्यस ज्येष्ठ सदस्य श्यामप्रसाद श्रेष्ठ लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

सहायक प्रअ पदमा नियुक्त बानियाँले आइतबारै पदभारग्रहण गर्नुभएको छ । पदभारग्रहण गर्दै नवनियुक्त बानियाँले विद्यालयको शैक्षिक उन्नयनका लागि आफ्नो तहबाट विव्यस, शि.अ.संघ, विद्यालय प्रशासन, शिक्षक र अभिभावकहरुसँग आवश्यक समन्वय र सहकार्य गरी जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रतिबद्धता जनाउनुभएको थियो । त्रिभूवन विश्वविद्यालयबाट अंग्रेजी र नेपाली विषयमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्नुभएका बानियाँले जिल्लाको सामाजिक र शैक्षिक अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

२०५३ सालदेखि जनकल्याण माविबाट नै शैक्षिक क्षेत्रमा प्रवेश गरी अध्यापन कार्य सुरुवात गर्नुभएका बानियाँले यसअघि जिल्लाको विभिन्न ठाउँमा पुगेर प्रावि, निमावि, मावि र उच्च माविमा शिक्षण गरिसक्नुभएको छ । पौलस्त्य मावि भीरमुनिमा कक्षा ११÷१२ सञ्चालनार्थ महत्वपूर्ण भूमिका निभाउनुभएका बानियाँ सोही विद्यालयको उच्च शिक्षा सञ्चालनका लागि संस्थापक शिक्षक पनि हुनुभएको थियो ।

यता जनकल्याण माविमा कक्षा ११÷१२ (बिहानी सत्र)का संस्थापक संयोजक बन्नुभएका सहायक प्रअ बानियाँ जनकल्याण मावि अक्षयकोषको संस्थापक सचिव हुनुहुन्छ । त्यस्तै उहाँ नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको निवर्तमान सभापति, म्याग्दीको सदरमुकाम बेनीबाट प्रकाशित हुने बेनी साप्ताहिक समाचारपत्रका संस्थापक प्रधानसम्पादक तथा गैरसरकारी संस्था मिलन म्याग्दीको निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ ।

Leave a Reply