जिल्लाका अधिकांस सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ । नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कमी हुदाँ गाभिने वावा बन्द हुने अवस्थामा पुगेका छन् । विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालय समेत भेटिन्छन् । तर, म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यामिक विद्यालयमा हरेक बर्ष भर्ना हुन आउनेको लर्को लाग्ने गरेको छ ।

सहर देखी गाउँमा रहेका निजी छोडेर आएका विद्यार्थीले मङ्लबार विद्यालयले लिएको प्रवेश परीक्षामा सहभागि भए ।१ साता सम्म विद्यालयले जारी गरेको भर्ना आवेदन फारममा विद्यार्थीले बायोडाटा सहितको विवरण बुझाएर प्रवेश परिक्षामा सहभागि भएका थिए ।

कक्षा कोठामा परिक्षा दिइरहेका विद्यार्थीका अभिभावक विद्यालय परिसर तथा आसपासका क्षेत्रमा खचाखच देखिन्थे । बार्षिक परीक्षा सकेपछि विद्यालयमा भर्ना हुन नियमित तयारी कक्षामा समेत सहभागी भएर आएका विद्यार्थीको तयारी समेत बार्षिक परिक्षा भन्दा कम थिएन्।

भौतिक संरचना र मानवीय जनशक्तीको अभावले १ देखी ९ कक्षासम्म क्षमता अनुसार १ सय विद्यार्थीलाई भर्ना लिन गरिएको परिक्षामा ३ सय जना विद्यार्थीको सहभागिता रहेकोे थियो । ‘सामुदायिकभन्दा संस्थागतबाट धेरै विद्यार्थी आएका छन्,‘भौतिक संरचना भए बार्षिक रुपमा हामीले धेरै विद्यार्थी भर्ना गर्न सक्छौ’ प्रधानध्यापक दिपक श्रेष्ठले भने ।

उनले प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीका अभिभावकलाई समेत कमजोर पक्षका बारेमा जानकारी गराउने र आवश्यकता परेमा छोराछोरीको उत्तरपुस्तिका समेत देखाएर सुधारका लागि अनुरोध गर्ने गरेको बताए । भौतिक संरचना, शिक्षक दरबन्दीको अभाव लगाएतका कारण आवेदन दिएका सबै विद्यार्थीलाई भर्ना गर्न असर्मथ रहेको बताए ।

‘यो रहर नभई बाध्यता हो,‘प्रयाप्त संरचना र जनशक्ती भए ठुलो संख्यामा विद्यार्थी भर्ना लिन सकिन्छ’ श्रेष्ठले भने । विगत एकदशकदेखि विद्यालयले प्रवेश परीक्षा लिने गरेको छ । विद्यालयले अपाङ्ग, विपन्न परिवार,द्धन्द्धपीडितलाई कोटा समेत छुट्टाएको छ ।

जिल्लामा निजी विद्यालयसंग प्रतिस्पर्धा गरिरहेको विद्यालयमा निजी विद्यालयका शिक्षकले समेत आफ्ना छोराछोरी तथा आफन्तलाई सिफारिस सहित विद्यालयमा पुगेका थिए । सामुदायिकमा अंग्रेजी माध्यममा राम्रो पढाई हुन थालेपछि महँगो शुल्क तिरेर पढाउन बाध्यता नभएको पर्वतको जलजला गाउँपालिका वडा नं ४ लुङ्दीकी प्रमिला सुबेदीले बताईन् ।

‘यो प्रतिस्पर्धाबाट छनौट भएमा यही पढाउँछौ,‘धेरै विद्यार्थीको रोजाईमा परेपछि यो अभ्यास गुणस्तरीय शिक्षाका लागि राम्रो लाग्यो’ अर्का अभिभावक बेनी गणेशटोलका हरी खत्रीले भने । बेनी नगरपालिका–२ खबराकी कुन्ती क्षत्रीले सामुदायिक भित्रको वातावरण देखेर आएको बताईन् ।

उनले प्रवेश परीक्षाका लागि निरन्तर अतिरिक्त तयारी समेत गरेर ल्याएको बताईन् । भारतको पञ्जाव राज्यमा अध्ययनरत भावना नेपाली कक्षा ८ को प्रवेश परीक्षामा सहभागी हुने समेत विद्यालयमा आएकी थिईन् । उनलाई बैदेशिक रोजगारीमा भारतमा पु्गेका बुबा बलबहादुर नेपालीले सामुदायिक विद्यालयको पढाई उत्कृष्ट रहेकाले यसपटक बेनी सामुदायिकमा ल्याएको विद्यार्थी नेपालीको भनाई छ ।

जिल्लाका सबै स्थानीय तह र छिमेकी पर्वत जिल्लाबाट समेत निजी तथा सामुदायिकका विद्यार्थी भर्नाका लागि आएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सम्मरबहादुर थापाले बताए । नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि हालसम्म देशभरका १ सय ४७ विद्यालयले भ्रमण गरेको छन् ।

जिल्लामा नजिता, भौतिक पूर्वाधार, शैक्षिक वातावरण, अनुभवी शिक्षक,डिजिटल कक्षा, अभिभावककै उपस्थितीमा उत्तरपुस्तिका निरिक्षण लगाएत गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने सबै मापदण्ड रहेकाले पनि अभिभावको रोजाईमा परेको छ ।

विद्यार्थीको निगरानीमा सिसी क्यामेरा जडान सहित आधारभुत तह देखी माविसम्म कक्षागत अभिभावक निगरानी समिति बनाएपछि दैनिक छोराछोरीको कमिकमजोरी, शैक्षिक गतिविधि लगाएतका बारेमा बुझ्ने ब्यवस्था गरिएको छ ।

कक्षागत अभिभावक अनुगमन समितिको संयोजकमा अभिभावको तर्फबाट आलोपालो सहित शैक्षिक गुणस्तर बढाउन विभिन्न कार्ययोजना बनाउने गरिएको बताउँदै भौतिक पूर्वाधार र जनशक्ती भए २ हजार विद्यार्थीलाई भर्ना लिन सकिने विद्यालयले जनाएको छ ।

Leave a Reply