म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयले आफ्नो ३९औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको आयोजनामा विद्यार्थीलाई पुरस्कार वितरण तथा अभिभावक भेला कार्यक्रम गरेर वार्षिकोत्सव मनाइएको हो ।

वार्षिकोत्सवको अवसरमा गएको शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षामा उत्तीर्ण हुने विद्यालयको बाल कक्षादेखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई कापी, कलम, पेन्सिलसहित शैक्षिक सामग्रीले पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि शिक्षक, विद्यार्थी र अभिभावक एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो।

वडाध्यक्ष बानियाँले पछिल्लो समय बसाइसराइलगायत विभिन्न कारणहरुले गर्दा सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्दै गैरहेको बताउँदै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सरोकारवाला निकाय सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो ।

पुलाचौरका वडा सदस्य तथा विद्यालयको पदेन सदस्य देवीदत्त पौडेलले विद्यालयको चौतर्फी विकास गर्नका लागि वडाको तर्फबाट आवश्यक पहल गरिने बताउँदै विद्यालयको विकासमा सबैले हातेमालो गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण उपाध्यायले विद्यालयको शैक्षिक तथा भौतिकलगायत समग्र प्रगति र विषयवस्तुको बारेमा जानकारी गराउनुभएको थियो ।

उक्त कार्यक्रममा विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष तथा पूर्व प्रअ गणेशबहादुर कार्की, विद्यालय व्यवस्थापन समिति सदस्य यज्ञबहादुर कार्की र विद्यालयको भूतपूर्व विद्यार्थी एवं म्याग्दीका पत्रकार प्रताप बानियाँले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पूर्व प्रअ कार्कीले स्टेशनरी वितरण गर्नुभएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर खत्रीको अध्यक्षता, शिक्षकद्वय खड्कबहादुर खत्रीको स्वागत र भरत कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । चिप्लेटी निवासी स्वर्गीय पोषकबहादुर खत्रीले १ रोपनी ४आना जग्गा विद्यालयलाई निःशुल्क रुपमा दिएपछि २०४१ सालमा डिम्ब आधारभूत विद्यालय स्थापना भएको थियो ।

Leave a Reply