वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसी यतिबेला म्याग्दीकाे गाउमा छन । उनले म्याग्दीको ग्रामीण क्षेत्रमा पुगेर बिरामीको उपचार गरिरहेका छन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीमा आइतबार र सोमबार हाडजोर्नीसम्बन्धी बिरामीको उपचार गरेका थिए ।

२ दिनसम्म उनले १ सय २५ जनाको उपचार गरेको भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीका प्रमुख कृष्ण केसीले जानकारी दिएका छन । आइतबार ५५ र सोमबार ७० बिरामीको उपचार गर्नुका साथै परामर्श सेवा समेत प्रदान गरेकाे बताइएकाे छ ।

स्वास्थ्यचौकीका प्रमुख केसीसहित सिनियर अहेव विक्रम पुन, अनमी नीता पुन, सनम वुद्धुजा पुन, अहेव चौथो सङ्गीना मगरातीलगायतले डा केसीलाई सघाएका थिए । चिकित्सा शिक्षाका अभियान्ता डा केसीले गत हप्ता बागलुङको निसिखोला गाउँपालिकाको बोहोरागाउँ स्वास्थ्यचौकीमा तीन दिन उपचार गरेका थिए । बागलुङबाट कुनै खबरबिना डा केसी भुरुङ्ग तातोपानी पुगेका थिए ।

गाउँपालिका र स्वास्थ्यचौकीले औषधिको व्यवस्थापन गरेको थियो । “पूर्वजानकारीबिनै डा केसी स्वास्थ्यचौकीमा आउनुभएको थियो”, स्वास्थ्य चौकी प्रमुख केसीले भने, “हामी पनि अचम्ममा पर्याै ।” स्वास्थ्य चौकीले सामाजिक सञ्जाल, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र सघं संस्थामार्फत सेवा लिनका लागि सर्वसाधारणलाई अनुरोध गरेको थियो ।

दाना, नारच्याङ, भुरुङ्ग तातोपानी, घार, शिख, पाउद्धार, पोखरेबगर, ठूलोबगरका सर्वसाधारण सेवा लिन आएका थिए । फुर्सदको समयमा ग्रामीण क्षेत्रका बिरामीको उपचारका लागि आएको डा केसीले बताएका छन । “ग्रामीण क्षेत्रमा हाडजोर्नी तथा नशारोगसम्बन्धी समस्या भएका धेरै बिरामी उपचारको पहुँच बाहिर छन्”, उनले भने, “फुर्सदको समयमा गाउँमै पुगेर सेवा दिने उद्देश्यले म्याग्दी आएको हुँ ।”

Leave a Reply