म्याग्दीको मंगला गाउँपालिका-५,पोक गाउँकी रिकजना माझीले एथलेटिक्स खेलबाट राष्ट्रिय प्रतियोगितामा छनौट हुने सपना बुनेकी थिईन् । गएको फागुन महिनामा म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा एथलेटिक्स खेलका विभिन्न विधामा सानदार खेल प्रर्दशन गदैं चार स्वर्ण पदक दिलाएकी रिकजनाले आफ्नो खेल क्षेत्रको पहिलो सपना राष्ट्रियस्तरको खेलमा छनौट हुन धेरै मेहनत गरिन् ।

लगातारको उनको मेहनत मंगलबार गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कप रनिङ शिल्ड अन्तरगत पोखरा रंगशालामा एथलेथिक्सको छात्रा ३ जम्पमा स्वर्ण र ४ सय इन्टु ४ रिलेतर्फ काँस्य पदक जित्दै गण्डकी प्रदेशबाट राष्ट्रिय खेलका लागि छनौट भएकी छन् । ‘एथलेटिक्सतर्फको मेरो पहिलो सपना पूरा भएको छ,‘अब राष्ट्रिय खेलमा पनि पदक दिलाउन प्रयास गर्नेछु’ खेलाडी माझीले भनिन्।

उनले एथलेटिक्समा पालिका, जिल्ला हुदै प्रदेशबाट समेत छनौट भएपछि अव राष्ट्रियस्तरको पदक जितेर देशका लागि खेल्ने लक्ष्य रहेको बताईन् । बावियाचौरको मंगला माविमा हालै कक्षा ८ उत्र्तिणा गरेकी माझीले जिल्लास्तरीय प्रतियोगितामा पालिकाले प्राप्त गरेको ५ स्वर्ण, ३ रजत र १ काँस्य पदमध्ये एक्लै चार स्वर्ण जितेकी माझीले एथलेटिक्स विधाका अन्य खेलमा समेत आफ्नो बलियो प्रर्दशन देखाउन सफल भएकी थिईन् ।

उनले पालिकास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा मंगला माविबाट ६ स्वर्ण जितेकी थिईन् । एथलेटिक्स विधामा अलराउन्ड रिक्जना एथलेटिक्सतर्फ जिल्लास्तरमा सर्वोत्कृष्ट खेलाडी हुन् । एथलेटिक्समा खुड्किला उक्लिँदै राष्ट्रियस्तरको खेलसम्म पुगेकी रिक्जनाको सपना राष्ट्रिय खेलाडी बनेर ओलम्पिक खेलसम्म पुग्ने लक्ष्य छ ।

‘आफ्नो देशका लागि पदक जित्ने सपना पूरा गर्नु छ,‘ अनुभवी प्रशिक्षकबाट तालिमको अवसर पाए अझै राम्रो प्रदर्शन गर्न सक्छु’ उनले भनिन् ।चरम गरिबीसँग पौँठेजोरी खेल्दै एथलेटिक्समा स्थापित हुने प्रयास गरेकी माँझीका बुबाआमाले बिहान, बेलुकी हातमुख जोड्न अर्काको घरमा मजदुरी गर्छन् ।

भुईमान्छे भएर संघर्ष गरिरहेका तिलक र विष्णु माझीले जोडेको जग्गाजमिन समेत म्याग्दी नदीको कटानले घरखेत बगाएपछि अहिले सुकुम्बासी जिवन विताइरहेका छन् ।तिलक दम्पत्तीले दैनिक गर्ने कठोर मजदुरीले समेत परिवार पाल्न धौ–धौ छ । गाउँकै विपन्न परिवारमा हुर्किएकी रिक्जनाले दुख,कष्ट, अभावलाई झेल्दै प्रतिकूल परिस्थितिमा पनि समान्य अभ्यासबाटै खेलकुद विधामा सफलता प्राप्त गरेकी छन् ।

गाउँघरमा दौडँदा दौड्दै एथलेटिक्समा पदकधारी माँझी नेपाली खेलकुदको उज्ज्वल नक्षत्र भइ चम्किने सम्भावना धेरै रहेको जिल्ला खेलकुद विकास समितिका सदस्य कुमार किसानले बताए । ‘उनी एथलेटिक्समा जिल्लाकै शान बनेकी छिन् । दृढ आत्मविश्वासका साथ खेलमा उत्रिने गरेकाले पदक बिहिन हुनुपरेको छैन’ किसानले भने ।

उनका अनुसार पहिलोपटक प्रदेशस्तरीय खेलमा डेब्यु गरेकी माँझील सोचेभन्दा उत्कृष्ट प्रदर्शन गरिन् ।हरेक विधामा निर्धारित समयमै तिब्र गतिको धाबक जस्तै दौडिएर चकित पार्ने गरेको मंगला माविका खेल शिक्षक हर्कबहादुर छन्त्यालले बताए ।

‘रिक्जनाले अभाबै अभावमा हुर्किएकए एथ्लेटिक्सकी सुन्दर भविष्य हुन,‘राष्ट्रिय खेलबाट खेलले उचाई चुम्ने छ’ छन्त्यालले भने । उनका अनुसार घरमा खेलका पदक प्रसस्तै भएपनि आर्थिक अभावका कारण हातमुख जोड्न समेत समस्या हुने गरेको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विपन्न परिवारमा हुर्किएका खेलाडीलाई थप सफलताका लागि सहयोग गर्न सबै तहका सरकारले प्राथमिकता दिनुपर्ने बताए । खेलाडीको क्षमता र सफलताको आकार अनुसारको साथ पाएमा म्याग्दीमा धेरै खेलाडी राष्ट्रियस्तरको पहिचान बनाउन सक्ने बताए ।

Leave a Reply