म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्य समिति अन्तर्गत महिला विभागको आयोजनामा जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा स्तन तथा पाठेघर क्यान्सर रोग सम्वन्धी निशुल्क स्क्रिनिङ शिविर सम्पन्न भएको छ ।

काठमाडौँ क्यान्सर सेन्टर हस्पिटलको प्राविधिक सहयोगमा डा. किशोर कुमार प्रधानाङ्गको नेतृत्वमा रहेको टोलीले शिविरमा सेवा दिएको हो । शिविरमा गाउँपालिका भित्रका ३६२ जना महिलाहरुले सेवा लिएका मोना अन्तराष्ट्रिय कार्य समितिका सचिव तथा कार्यक्रम संयोजक सुवोध बरुवालले जानकारी दिनुभयो ।

मंगलबार र बुधवार दुई दिन सम्म संचालन भएको शिविरमा महिलाहरुको पाठेघर तथा स्तन सम्वन्धी समस्याको पहिचान, परिक्षण तथा औसधि वितरण र आवश्यक परामर्श समेत दिईएको थियो । ग्रामिण भेगका महिलाहरुमा स्तन र पाठेघर रोगको समस्या धेरै रहेकाले विरामीहरुको आर्थिक अवस्थालाई समेत मध्यनजर गरि निशुल्क शिविर आयोजना गरिएको मोनाले जनाएको छ ।

डा. प्रधानाङ्गले म्याग्दी जिल्लाको ग्रामिण भेगका महिलाहरुमा पाठेघर सम्वन्धी समस्या प्रशस्तै भेटिएको बताउनुभयो । स्त्री रोग सम्वन्धी जनचेतना कम भएकाले धेरै जसो महिलाहरुले रोग लुकाएर बसेको भेटिएको उहाँको भनाई थियो ।

मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले मालिका गाउँपालिका भित्रका धेरै महिला दिदीवहिनीहरुमा स्तन तथा पाठेघर सम्वन्धी समस्या देखिएकाले आगामी दिनमा गाउँपालिकाले पनि यस्ता खालका शिविर संचालन गर्न आवश्यकता महशुस भएको बताउनुभयो ।

मालिका ५ की ७५ बर्षिय गौसरा पुनले आफुले धेरै बर्षदेखि पाठेघरको समस्या झेल्दै आएको र अहिले निशुल्क शिविरमा अनुभवी डाक्टर संग जाँच गरि औसधि लिएको बताउनुभयो । त्यस्तै धवलागिरी गाउँपालिका ६ मराङ राम्चेकी ७० बर्षीय तुलमा विश्वकर्माले पनि शिविरमा सेवा लिनुभएको छ ।

निशुल्क रुपमा जाँच गरेँ, औसधि पनि लिए, पाठेघरको समस्या ठिक हुन्छ भनेर डाक्टरले भन्नुभएको छ, विश्वकर्माले भन्नुभयो, “पाठेघर रोगको बारेमा सल्लाह र जानकारी पनि दिनुभयो, शिविरले बृद्धा अवस्थाका महिलाहरुलाई धेरै राहत मिलेको छ” उहाँले भन्नुभयो । शिविर संचालनमा मालिका गाउँपालिका, वडा नम्वर ६ को कार्यालय, दरवाङ् स्वास्थ्य चौकिका स्वास्थ्यकर्मी लगायतले सहयोग गरेका थिए ।

जिल्लाको छ वटै पालिकामा शिविर संचालन गर्ने मोना अन्तराष्ट्रिय कार्य समिति अन्तर्गत महिला विभागको कार्यक्रम अनुसार बैशाख १४ र १५ गते मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा स्तन तथा पाठेघर रोग सम्वन्धी शिविर आयोजना गरिने मोनाले जनाएको छ । यसअघि म्याग्दीको धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा शिविर सम्पन्न भईसकेको छ ।

Leave a Reply