बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै ५०० सुन्तलाका विरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो।

कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका लागि भकुण्डेका पाँचभाइले खेत मासेर सुन्तला रोपेका हुन् । बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका ती दाजुभइले १८ रोपनी जग्गामा ५०० सुन्तलाका विरुवा लगाएका र ती विरुवाले आगमी वर्षदेखि उत्पादन दिन थाल्ने छन् ।

पैँतिस वर्षसम्म पढाउँदै आएका ६२ वर्षीय रेशमलाल शर्माले आफ्नो छ रोपनी जग्गामा २०० सुन्तलाका विरुवा लगाएका छन् भने अन्य चारभाइले १२ रोपनी जग्गामा करिव ३०० सुन्तलाका विरुवा लगाएका छन् ।

भकुण्डेमा घर र खेत तित्याङमा भएकाले धान उत्पादनको लागत बढेको र मकै तथा गहुँ नछर्दा छ महिना बाँझो छोड्नु पर्ने अवस्थामा रहेको खेत अहिले सुन्तलाका विरुवाले हरीयाली बनेको रेशमलाल शर्माले जानकारी दिए ।

“हामी पाँच भाइको एउटै पाटो खेत थियो, अहिले उक्त खेत सुन्तला बगैचामा परिणत भएको छ, आगमी वर्षदेखि उत्पादन देला, पाँच भाइको सल्लाहमै उक्त खेतलाई एउटै बगैँचाको रूपमा विस्तार गर्न सुन्तला लगाएका हौं” उनले भने “धान खेतीभन्दा सुन्तलाबाट दोब्बर आम्दानी गर्न सकिने हाम्रो अठोट छ ।”

रेशमलालसहित, ताराप्रसाद शर्मा, लक्ष्मण शर्मा, केशव शर्मा र दामोदर शर्माले धान खेतीभन्दा सुन्तला खेतीबाटै राम्रो आम्दानी गर्न सकिने भन्दै १८ रोपनी जग्गामा तीन वर्षअघि सुन्तला खेती थालेका हुन् । उक्त सुन्तला बगैँचा जिल्लाकै ठूलो बगैँचाका बनाउने गरी एकिकृतढङ्गले सुन्तला खेती थालिएको र  रेशमलाल भने अझै १०० विरुवा थप्ने लक्ष्यमा छन् ।

धान, मकै र गहुँ गरी तीनबाली हुने खेतमा भकुण्डेबाट आएर तीन खेती गर्न संभावना नभएको र धान खेती मात्रै गर्दा २५ देखि ३० मुरी धानले खन–जोत र खेतालाको रकमसमेत नउठ्ने भएकाले सुन्ताला खेतीमा लागेको अर्का भाइ केशव शर्माले बताए ।

“धान खेतीमा भन्दा सुन्तलामा राम्रो आम्दानी हुन्छ भन्ने हाम्रो निर्णय भयो र अहिले सबै बगैँचामा रु पाँच लाख लगानी भइसकेको छ, सिगानाका उन्नत जातका विरुवा मापदण्डअनुसार खाडल खनेर लगाइएको छ” उनले भने “बागलुङ बजारबाट नजिकै रहेको तित्याङमा नमूना सुन्तला बगैचा बनाएर कृषकहरूका लागि अध्ययन अवलोकनको केन्द्र समेत बनाइने लक्ष्य छ ।”

एक÷एक मिटर लामो र गहिरो खाडलमा गोबर मल हालेर पाँच मिटरको फरकमा सुन्तलाका विरुवा लगाइएको छ ।
सुरुमा सुन्तला खेतीलाई बढी मेहनत गर्न परे पनि विरुवा हुर्किएपछि समस्या नहुने कृषक केशवको भनाइ थियो । सुन्तला फार्ममा एकजनालाई रोजगारी दिनेगरी पाँच भाइबीच सल्लाह भइरहेको छ ।

एकीकृतरूपमा सुन्तला खेती गर्दा सुरक्षा, सिंचाई तथा मलजलमा सहज हुनेछ । अठार रोपनी जग्गामा फैलिएको सुन्तला बगैँचालाई ‘आरम्भ एकिकृत कृषि फार्म’ नामाकरण  गरेर दर्ता गरिएको छ । उक्त बगँैचालाई तारबार गर्न आवश्यक रहेको सुन्ताला किसानहरुको भनाइ थियो सुन्तला किसानलाई  बगैँचा व्यवस्थापन तथा औषधि र उपकरणमा अनुदान दिन सकिने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए ।

Leave a Reply