समाजमा हुने शारिरीक, मानसिक, भावनात्मक, यौनजन्यलगायत हिंसाको विरुद्ध सशक्त रुपमा प्रतिकार गर्नका लागि किशोरीहरुलाई आत्मरक्षाको तालिम दिइएको छ । जुनसुकै समयमा पनि किशोरीमाथि हुन सक्ने विविध प्रकारका हिंसाहरुको विरुद्धमा प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यसहित किशोरीहरुलाई तालिम प्रदान गरिएको हो ।

यसैक्रममा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, ठूलोबगरमा विद्यालय तहका किशोरीहरुलाई लक्षित गरेर सञ्चालित आत्मरक्षा तथा किशोरीहरुको क्षमता विकाससम्बन्धी तालिम आज (बिहीबार) सकिएको छ । सामाजिक विकास कार्यालय म्याग्दी र अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजना, मिलन म्याग्दीको व्यवस्थापन र जिल्ला प्रहरी कार्यालयको समन्वयमा तालिम सञ्चालन गरिएको थियो ।

पछिल्लो समय महिला तथा किशोरीहरुमाथि भैरहेका यौनजन्य हिंसाको विरुद्धमा सशक्त रुपमा प्रतिकार गरी आत्मरक्षा गर्न सक्षम बनाउने उद्देश्यले किशोरीहरुलाई आत्मरक्षा तथा क्षमता विकास तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले आत्मरक्षा तालिमले समाजमा महिला, बालिका तथा किशोरीहरुमाथि हुने यौनजन्यलगायत हिंसाहरुको न्युनीकरणमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले तालिममा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा पूर्ण रुपले व्यवहारमा उतार्न सहभागी किशोरीलाई सुझाव दिँदै पालिकामार्फत समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले तालिमले किशोरीहरुमा आत्मरक्षा गर्ने क्षमताको विकास गर्नुका साथै सम्भावित घटनाको प्रतिकार तथा सुरक्षासहित सक्षम बन्न सहयोग पुग्ने बताउनुभयो । उहाँले किशोरी तथा बालबालिकाहरुको हक, अधिकार, कानुनले दिएको अधिकार प्राप्त गरे, नगरेको र व्यक्तित्व तथा नेतृत्व विकास गर्नेगरी तालिमको आयोजना गरिएको बताउनुभयो । तालिमको समापनसत्र गाउँपालिकाका अध्यक्ष पुनको अध्यक्षता र सहभागी सोनिया थजालीको सञ्चालनमा सम्पन्न भएको थियो ।तालिमका सहभागी विद्यालयका किशोरी तथा शिक्षकहरुलाई सहभागिताको प्रमाणपत्र समेत वितरण गरिएको छ । तीन दिनसम्म चलेको तालिमको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना अधिकृत हरिकृष्ण आचार्य, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक कृष्ण विश्वकर्मा, प्रहरी जवानद्वय अनिताकुमारी दर्लामी, मुना थापा र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले सैद्धान्तिक विषयमा सहजीकरण गर्नुका साथै प्रयोगात्मक अभ्यास गराउनुभएको थियो ।

तालिममा सकारात्मक सोच, नेतृत्व विकास, आत्मरक्षा तथा प्रतिकार गर्ने तौरतरिका, महिला तथा बालिकाको हक, अधिकार, घरेलु, सामाजिक र यौनजन्य हिंसा तथा न्युनीकरणका उपायलगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो । तीन दिनसम्म सञ्चालित तालिममा अन्नपूर्ण गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयबाट ३ जनाको दरले किशोरीहरुले सहभागिता जनाएका थिए ।

यसअघि पनि सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, रघुगंगा गाउँपालिकाको समन्वय र मिलन म्याग्दीको व्यवस्थापनमा रघुगंगामा १० वटा मावि र मालिका गाउँपालिकाको दरबाङमा समेत तीनवटा माविका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी विषयमा तालिम दिइएको थियो ।

Leave a Reply