२० अक्टोबर सन् १८१४ को दिन इस्ट इन्डिया कम्पनीले नेपालविरुद्व युद्व घोषणा गर्‍यो । पश्चिमी मोर्चाहरूमा झन्डै दुई वर्ष घमासन युद्ध भयो । २ डिसेम्बर १८१५ मा नेपाल र इस्ट इन्डिया कम्पनी सन्धि गर्न इच्छुक भयो । ४ मार्च १८१५ को दिन दुवैतर्फले सन्धिमा हस्ताक्षर गरे । सोही सन्धिलाई सुगौली सन्धिको नामले चिनिन थालियो । यसपछि नेपाली युवाहरू (विशेष गरी आदिवासी) बेलायती सेनामा भर्ती हुँदै आएको छ ।

ऊ वेला राणाले गाउँ–गाउँमा उर्दी लगाएपछि तालुकदार, मुखिया र पगरीहरूमार्फत गल्लावालको साथमा भर्ती पठाउँथे । त्यसरी गएका युवाहरूले दुईवटा विश्वयुद्ध लडे । हजाराैँले ज्यान गुमाए । अंगभंग भए । युद्धमा हराए । हराएकाहरू बर्मा, इटाली, फिजी, बेल्जियमजस्ता देशहरूमा विस्थापित भए । पहिलो विश्वयुद्धमा कुलवीर थापा मगर र कर्णबहादुर राना मगरले भिसी (भिक्टोरिया क्रस) पाए । दोस्रो विश्वयुद्धमा दशजना गोर्खालीहरूले भिसी पदक पाए । ब्रुनाई सारावकको युद्धमा रामबहादुर लिम्बूले भिसी पाए । १३ जना भिसीहरूमध्ये रामबहादुर लिम्बू मात्र अहिले जीवित छन् ।

 

वेग खोलादेखि बर्मासम्म 

सन् १९२०, मा वेग खोला म्याग्दीमा भिसी तुलबहादुर पुनको जन्म भयो । २८ अक्टोबर १९४० भर्ती भएका पुनले १०११९ आर्मी नम्बर पाए । छैटौँ गोरखा राइफल्सको तेस्रो बटालियनमा उनी सेवारत भए । २३ जुन १९४४ मा दोस्रो विश्वयुद्धमा जापानिज सेनासँग लड्दै जाँदा उनी बर्माको मोगाङ् भन्ने ठाउँमा पुगे । मोगाङ्को रेल दौडने पुल माथि रेड हाउस थियो । उक्त घरमा दुश्मनहरू डिफेन्ज बनाएर बसेका थिए । दुश्मनलाई हमला गर्ने तयारी गरिरहेको अवस्थामा बायाँतर्फबाट गोर्खाली माथि दुश्मनहरूले गोली बर्षाउन थाल्यो । दुश्मनको फायरबाट बी कम्पनीका दुईवटा प्लाटुनलाई निकै ठूलो नोक्सानी पुर्‍यायो । त्यही नोक्सानी व्यहोरिरहेको एउटा प्लाटुनमा तुलबहादुर पुन थिए । तुलबहादुर र बाँचेका एकजनालाई सेक्सन कमान्डरले साथ लिएर दुश्मनहरू भएको रेड हाउस माथि आक्रमण गर्न पुगे ।

रेडहाउसमा पुग्नासाथ दुश्मनको गोली लागेर सेक्सन कमान्डर गम्भीर घाइते भयो । आफूहरूमाथि बर्सिरहेको गोलाबारुदको कुनै पर्वाह नगरी सेक्सन कमान्डरको साथमा रहेको ब्रेनगन तानेर तुलबहादुर पुनले दुश्मनमाथि फायर सुरु गर्‍यो । दुश्मनबाट आइरहेको गोलाबारुद केही मात्रामा कम भएको अवस्थामा तुलबहादुर रेडहाउसभित्र पसी तीनजना दुश्मनलाई मारिदियो । त्यसपछि अन्य दुश्मनहरू भाग्न थाले । निडरताको साथ लडी आफ्नो प्लाटुनलाई ठूलो क्षति हुनबाट जोगाउँदै दुश्मनको पोजिसनलाई आफ्नो कब्जामा लिन सफल भयो । उनको त्यही साहसिक योगदानको कदर गर्दै ३ मार्च १९४५ को दिन दिल्लीस्थित लालकिल्लामा तत्कालीन भायसराय लर्ड वभेलको बाहुलीबाट उनलाई भिसी पदक प्रदान गरियो ।

 

डा. चन्द्रबहादुर प्होनी गुरुङद्वारा लिखित ‘वीरका पनि वीर भिसी विजेता गोर्खाहरू’ नामक पुस्तकका अनुसार उनको भिसी पदक छैटौँ गोर्खा राइफलले फिर्ता लिएको थियो । छैटौँ गोर्खा राइफल विघटन भएपछि उनको भिसी पदक हाल बेलायतको आर्मी म्यूजियम विन्चेस्टरमा राखिएको छ ।

बेलायतद्वारा भिसा अस्वीकृत

गोर्खा आन्दोलन निरन्तर भइरहेको थियो । भुपू लाहुरेहरू विभिन्न माध्यमबाट बेलायतमा प्रवेश गरिरेहका थिए । भिसी तुलवहादुर पुनको आवासीय भिसा सन् २००६ मा भूतपूर्व सैनिक संघ (गेसो)मार्फत अप्लाई गरेको थियो । गेसोका उपाध्यक्ष धर्म तामाङका अनुसार, आवासीय भिसा अप्लाई गर्न‘को कारण बेलायत सरकारलाई परीक्षण गर्न‘ पनि थियो । बेलायत र भिसी पुनको नजिकको सम्बन्ध नभएको कारण देखाएर आवासीय भिसा दिन अस्वीकार गरिएको थियो । प्रत्येक दुई वर्षमा बेलायतका महारानी एलिजाबेथ द्वितीयले गोर्खा भिसीहरूलाई बेलायत निमन्त्रणा गरी बकिंघम प्यालेसमा दर्शन भेट दिने गर्थिन् । भिसीलाई बेलायतले भिसा नदिएको समाचार विभिन्न पत्र–पत्रिकामा प्रकाशित भयो । त्यसपछि भूपू गोर्खाहरूको जीवन बुझ्नका लागि बेलायतबाट हवयको ल फर्मका ६ सदस्यीय टोली नेपाल आयो । भिसी पुनको आर्थिक र स्वास्थको अवस्थालाई अध्ययन गरी बिबिसीले एउटा डकुमेन्ट्री बनाई प्रसारण गरेको संस्मरण उपाध्यक्ष तामाङ बताउँछन् ।

यसपछि मात्र भिसी पुन, उनकी श्रीमती अनिसरा पुन र कान्छा छोरा विकास पुनलाई बेलायतले आवासीय भिसा दियो । बेलायत आउँदा भिसी पुन आँखा देख्दैनथे । उनको आँखाको शल्यक्रिया भयो । शल्यक्रिया सफल भयो । १७ वर्षपछि भिसी पुनले आफ्नी श्रीमती अनिसरा पुनलाई देखे । उपाध्यक्ष तामाङका अनुसार भिसी पुनले आफ्नी श्रीमतीलाई हेर्दै भनेका थिए, ‘यो त काली भयो होला भनेको थिएँ । अझै राम्री नै रैछ । बूढी भयो होला भन्ने लाग्थो । तरुणी नै रैछ ।’

भिसीको नामबाट रेल

बर्माको युद्ध मैदानमा देखाएको साहसिक कामबाट तुलबहादुरले भिसी पाएका थिए । उनले भिसी पाएको दिनलाई लक्षित गरी २३ जुन २०२१ देखि ‘भिसी तुलबहादुर पुन’ नामक रेल ग्रेट वेस्टर्न रेलवे कम्पनीले सञ्चालनमा ल्याएको छ । ७५ वर्षअघि सकिएको दोस्रो विश्वयुद्धको सम्झनामा पोहोर साल मात्र उक्त रेल सञ्चालन गर्ने योजना भए तापनि कोभिड–१९ को कारण स्थगित भएको थियो । अभिनेत्री जोवन्ना लुम्ली, भिसीका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो सेवाको शुभारम्भ सेन्टर लन्डनको पेडिङ्टनमा गरेका थिए । रेलमा राखिएको लोगोमाथि भिसी तुलबहादुर पुन लेखिएको छ । उनको फोटो पनि राखिएको छ । साथै ६ गोर्खा राइफलको लोगो पनि रहेको छ । ७५ बर्षअघि दोस्रो विश्वयुद्ध सकिएको सम्झनामा ७५ लेखिएको छ । ‘भिसी तुलबहादुर पुन’को नाम भएको रेल सेन्टर लन्डनको पेडिङ्टन र ब्रिस्टल आउने–जाने गर्छ ।

गोर्खा संगठनहरूको धारणा

गोर्खाको अधिकारका लागि लडिरहेको सत्याग्रह समूहका संयोजक कृष्णबहादुर राई पहिलो भिसी पाउने कुलवीर थापा मगर वा अन्तिम भिसी पाउने एक मात्र जीवित भिसी रामबहादुर लिम्बूको नाममा रेल सेवा राखिएको भए झन् राम्रो हुने बताउँछन् । ‘१३ जना भिसीहरूको नाम राख्दा अझै राम्रो हुन्थ्यो । भिसी तुलबहादुर पुनको नाम राख्दा पनि हामीलाई गर्व लागेको छ’, उनले भने, ‘उहाँको नाम राख्नुको पछाडि अभिनेत्री जोवन्ना लुम्लीको केही भूमिका रहेको हुन सक्छ । किनभने अभिनेत्रीको बाउलाई भिसी पुनले दोस्रो विश्वयुद्धमा बचाएका थिए । बेलायतलाई भन्दा पनि ग्रेट वेस्टर्न रेलवे कम्पनीलाई हाम्रो धन्यवाद छ ।’

गेसोका सभापति कृष्णकुमार राई भन्छन्, ‘जीवनको उत्तरार्धमा पनि भिसी तुलबहादुर पुन गोर्खा आन्दोलनको अग्रणी मोर्चामा सहभागी भइरहनुभयो । उहाँको नाममा रेल सञ्चालन हुनु गोर्खालीप्रति मात्र हैन नेपाल र नेपालीहरूप्रति गरिएको आदर र सम्मान हो ।’ दुई देशबीचको सम्बन्धलाई झन् नजिक बनाउने प्रयास पनि रहेको उनी बताउँछन् ।

सत्याग्रहका निर्देशक ज्ञानराज राई भन्छन्, ‘कोभिड महामारी सुरु हुनुभन्दा अगाडि मलाई नो कलर आइडीबाट एक दिन फोन आयो । ग्रेट वेस्टर्न रेलवे कम्पनीबाट बोल्दै छु भन्यो । हामीले भिसी तुलबहादुर पुनको नाममा एउटा रेल सञ्चालन गर्दै छौँ । तपाईं गोर्खाली समुदायको एउटा नेतृत्व भएकाले कस्तो लाग्छ ? तपाईं के भन्नुहुन्छ ? हामीलाई सल्लाह र साथ चाहिन्छ भनियो । मैले भने, ‘यो गर्वको कुरो हो ।’ भिसीको नाम राख्नु भनेको सबै गोर्खालीको नाम राख्नु बराबर हो ।’ file article

Leave a Reply