म्याग्दीको धवलागिरी गाउँपालिका-६ राम्चे मराङकी ७० बर्षिया तुलुमा विकले पहिलोपटक पाठेघरको चेकजाँच गरिन् । उमेरले डाँडो काटेको यो अवस्थामा आइपुगेपछि विकजस्तै ६५ बर्षिया चैमती विक र ६८ बर्षिया पार्वती विकले समेत पहिलोपटक पाठेघरका बारेमा जानकारी पाईन् ।

महिनावारी सुकेको धेरै बर्ष भएपनि पाठेघरको सुरक्षा आवश्यकता रहेको जानकारी पाएपछि म्याग्दीबाट प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिले पालिकास्तरमा आयोजना गरेको शिविरमा पुगेर चेकजाँच गरेका बृद्धाले आफ्नै शरीरका अंगका बारेमा चिन्न नसकेको बताएका थिए ।

‘पाठेघरको महत्व धेरै हुनेरहेछ,‘बुढेशकालमा आएर थाहा पाइयो’ दिलमायाँ विकले भनिन्। करिब ३ घण्टाको पैदलयात्रा गरी पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा आयोजित शिविरमा पुगेकी दिलमायाँले पाठेघरका बारेमा चिकित्सकबाट थाहा पाएपछि निकै आनन्द महसुस भएको बताईन् । ‘सन्तानको स्थायी घर पो रहेछ, यो थाहा पाउन मैले ५० बर्ष पूरा हुनुपर्ने कस्तो ठाउँमा जन्मिएछु’ विकले भनिन् ।

जिल्लाका ग्रामिण क्षेत्रमा धेरै महिलाहरु स्वास्थ्यको पहुँचबाट बाहिर छन् । स्वास्थ्य चौकीभन्दा टाढा रहेका बस्तीका महिलाले आफ्नो समस्या लुकाउने गरेका छन् ।

पाठेघर र स्तन क्यान्सर सम्बन्धि चेकजाँच गर्ने शिविरमा आएकी मालिका–२ खवाङकीस् फोनमायाँ बुढाथोकीले पाठेघरको सुरक्षाका बारेमा ग्रामिण क्षेत्रका विपन्न र अशिक्षित महिलालाई जानकारी नै नभएको बताईन् । ‘पाठेघरको महत्व धेरै छ, यसका बारेमा मात्रै जानकारी भए महिला जोगाउन सचेत हुन्छन्’बुढाथोकीले भनिन् ।

प्रवासी म्याग्देलीले बेनी नगरपालिका सहित ५ वटै गाउँपालिकामा आयोजना गरेको शिविरमा चेकजाँचका लागि आएकाले जनचेतनाको अभावका कारण रोक पहिचान गर्न नसकेको भन्दै गुनासो गरेका थिए । हरेक स्थानीय तहमा २ दिने स्तन तथा पाठेघर सम्बन्धि शिविरमा भिआइए विधिबाट १७ सय ३३ महिलाको पाठेघरको मुखको स्क्रिनिङ गरेकामा १ सय ८७ जनाको रिजल्ट पोजेटिभ देखिएको मोना अन्तराष्ट्रियका सचिव सुवोध बरुवालले बताए ।

उनका अनुसार १७ महिलाको स्तनमा गिर्खा भेटिएको थियो । शिविरमा आएका महिलाहरूको चेकजाँचको क्रममा पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशय ट्युमर, डिम्बाशयमा सिस्ट (डल्लो) पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको संक्रमण जस्ता समस्या पहिचान काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा डा. किशोरकुमार प्रधानाङ्गले बताए ।

उनका अनुसार जनचेतना, अशिक्षा र विभिन्न कारणले सहरबजारदेखि ग्रामिण क्षेत्रका महिलाहरु पछिल्लो समय पाठेघरसँग सम्बन्धित विभिन्न रोगसँग जुधिरहेका छन् । ‘ग्रामिण क्षेत्रमा पाठेघर खस्ने समस्या विकराल देखिएको छ,‘महिलाको समस्याका बारेमा पुरुषले समेत बेवास्ता गर्दा दुर्गम भेगका महिला निकै प्रताडित छन्’ डा. प्रधानाङ्गले भने । उनका अनुसार धेरै सन्तान जन्माउँदा, कम अवधिमै अर्को बच्चा पाउँदा, असुरक्षित तवरले सुत्केरी हुँदा र सुत्केरी अवस्थामा आराम नपाउँदा पनि पाठेघर खस्ने समस्या देखिन्छ ।

पाठेघरका बारेमा महिलाले समेत श्रीमान् तथा समाजबाट अपहेलित हुनुपर्ने त्रासले लुकाउने गरेको स्वास्थ्यकर्मीको भनाई छ । मोना अन्तराष्ट्रियका अध्यक्ष अम्मर छन्त्यालले मोनामार्फत जिल्लामा आयोजित शिविरबाट महिलाको रोग पहिचान भएको बताए ।

उनले आगामी दिनमा समेत जिल्लास्तरमा स्वास्थ्य शिविरमार्फत रोग लुकाउन बाध्य भएकाको पहिचान गरी उपचार गर्ने बताए । मोनाले पाठेघरको थप उपचार आवश्यक देखिएका बिरामीलाई बेनी अस्पतालमा उपचार गर्ने गरी थप योजना बनाएको जनाइएको छ ।

Leave a Reply