म्याग्दीमा पनि विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ। ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान राष्ट्रको अभियान’ भन्ने यस वर्षको मूल नारासहित मे १ तारिख दिनको अवसरमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको हो ।

दिवसको अवसर पारेर नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) बेनी नगरपालिका कमिटीको आयोजनामा म्याग्दी सदरमुकाम बेनीमा बाजागाजासहितको प्रभातफेरी ¥याली निकालेर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइएको जिफन्ट बेनी नगर कमिटीले जनाएको छ ।

बजार परिक्रमापछि जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा एमाले नेताहरुसहित विभिन्न सामाजिक संघसंस्था र मजदुर सङ्गठनका नेताहरुले सम्बोधन गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले विश्वमा कम्युनिष्टहरुको अगुवाइमा मजदुरहरुको आन्दोलन सफल भएको बताउनुभयो ।

उहाँले ‘संसारका श्रमिकहरु एक होऔं’ भन्ने मूल नारासहित एमालेले मजदुरहरुको आवाजलाई बुलन्द पारेको बताउँदै एमालेले सरकारको नेतृत्व गर्दा सबै मजदुरहरुको पक्षमा काम गरेको बताउनुभयो । यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले मजदुरहरुलाई लक्षित गरेर योगदानमा आधारित सामाजिक सुरक्षा योजनासहित उनीहरुलाई पेन्सनको व्यवस्था गरेको जानकारी दिनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीले मजदुरहरुको पक्षमा नेकपा एमालेले मात्रै काम गर्न सक्ने भएकाले एमालेको पक्षमा सबै मजदुरहरु एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले जिफन्ट र एमालेको सम्बन्ध नङ र मासु जस्तै रहेको भन्दै यसअघि एमालेले सरकारको नेतृत्व गरेको समयमा मजदुरको पक्षमा थुप्रै कामहरु गरेको हुँदा अब पनि नेतृत्व गर्ने अवसर पाएमा मजदुरको पक्षमा काम गर्ने बताउनुभयो । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष लिलाराम गौतम र निर्माण व्यवसायी महासंघका महासचिव दिनेश खत्रीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिफन्ट बेनी नगर कमिटी अध्यक्ष राजकुमार राईको अध्यक्षता र सचिव अर्जुन रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्युपेक अध्यक्ष महाप्रसाद राईले स्वागत गर्नुभएको थियो । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’को नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष मे १ तारिखका दिन विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो।

Leave a Reply