आफ्नै गाउँ ठाउँमा कमाइ गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाहरुको भीडमा दरवाङका एक युवाले भने गर्न सक्ने हो भने गाउँमा नै विदेशमा भन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा प्रमाणित गर्नुभएको छ ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ उपल्लो वजारका २८ वर्षिय युवा सुजन पौडेल चार वर्ष युएईमा काम गरेर फर्के पछि पुन ः विदेश नजाने प्रण गर्दै गाउँमै गरेको भैंसी पालनबाट मनग्गे आम्दानी गर्न सफल हुनुभएको हो ।

उपल्लो दरवाङको केवि एकेडेमी नजिकै २०७७ सालदेखि भैंसी पालन गर्नुभएका पौडेलले ६ वटा भैंसीबाट दैनिक ४० लिटर दुध दरवाङ बजारमा विक्रि गर्दै आउनुभएको छ ।

प्रतिलिटर एक सय २० रुपैयाँका दरले दुध विक्रि गर्दा पौडेलले दैनिक चार हजार आठ सय रुपैयाँ कमाइ गर्नुहुन्छ । दुध विक्रिबाट मासिक एक लाख ४४ हजार कमाइ गर्ने पौडेलले सवै खर्च कटाएर मासिक रु ८ं० हजार भन्दा बढि वचत गर्ने गर्नुभएको छ ।

२०७७ सालमा रु १२ लाखको लगानीबाट भैंसी पालन सुरु गर्नुभएका पौडेलले अहिले लगानी बढाएर रु २० लाख जति खर्च भएको बताउनुभयो । भैंसीपालनसँगै बाख्रा पालन र तरकारी खेती समेत गर्नुभएका पौडेलको सवै तिरबाटको आम्दानी जोड्दा मासिक रु एक लाख भन्दा बढि हुन आउँछ ।

“विदेशमा अरुको अधिनमा रही मरिमरि काम गर्दा पनि रु ४० हजार भन्दा बढी कमाइ हुँदैनथ्यो” पौडेलले भन्नुभयो “यहाँ आफ्नै गाउँठाउँमा परिवारसँगै वसेर मनलगाई काम गर्ने हो भने रु एक लाख भन्दा बढी मासिक कमाइ गर्न सकिदोरहेछ ।”

पौडेलले क्रस जातका बाख्रा पालन पनि गर्नु भएको छ । पाङ्गारिक मलबाट तरकारी खेती समेत गर्नुभएका पौडेल आफ्नो काम र कमाइ दुवैबाट सन्तुष्ट हुनुहुन्छ ।

“मलाई पनि सुरुमा विदेश जान पाए के के न हुन्छ होला जस्तो लाग्थ्यो । जव विदेश गएर त्यहाँका दुःख अनि त्यति दुःख गर्दा हुने आम्दानी देंखे त्यसपछि विदेश वस्न मन लागेन र आफ्नै ठाउँमा आएर भौंसी पालन सुरु गरेको हुँ” उहाँले भन्नुभयो ।

दरवाङ गाउँपालिकाको कृषि तथा भेटेरनरी शाखाबाट भकारो सुधारका लागि उहाँले चालु आर्थिक वर्षमा रु २ लाख अनुदान पाउनुवाहेक स्थानीय तहबाट अरु कुनै सहयोग प्राप्त हुन नसकेको बताउनुभयो ।

“आफ्नै गाउँठाउँमा केही गर्छु भनेर लागेका युवाहरुलाई स्थानीय तहले सहयोग गर्नुपर्छ,सरकारी अनुदान र सहयोगमा आफन्त,नातागोता र राजनीतिक आस्था हेरिनुहुन्न । यसो भयो भने मात्र सरकारले दिने सहयोग वास्तविक किसानसँग पुग्छ र किसान प्रोत्साहित हुन्छन्” पौडेलले भन्नुभयो ।

म्याग्दीबाट वर्षेनी विदेशिने युवाहरुको लर्को लाग्ने गर्दछ । चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा मात्र विदेश जानका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट पाँच हजार छ सय ८४ जनाले राहदानी लिएका जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

गत बर्ष २०७८÷७९ मा कार्यालयबाट ४ हजार ७४ जनाले राहदानीका लागि सिफारिस लिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले गतबर्ष भन्दा यस बर्षमा राहदानी लिने संख्या बढेको बताउनुभयो ।राहदानी लिने युवायुवती बढी छन् । विवाहित र नाबालक ब्यक्तिको राहदानी बनाउने पनि छन् ।

अमेरिका, युरोप, अस्ट्रेलिया, जापान संगै खाडी मूलुकमा रोजगार, ब्यवसाय, अध्ययन र पारिवारिक भेटघाटका लागि जानेको संख्या बढेसंगै राहदानी बनाउनेहरुको संख्या बढेकोे सहायक प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । अध्ययनका लागि विदेश पलायन हुने अधिकाँश अध्ययनका लागि भन्दा पनि रोजगारकै लागि जाने प्रचलन छ ।

Leave a Reply