म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने पक्की पुलबाट कालीगण्डकी नदीमा सोमबार विहान हाम फालेका एक यूवा अझै भेटिएका छैनन् ।

कालीपुलस्थित चेकपोष्टमा रहेका प्रहरी जवानलाई आफ्नो मोवाइल दिएर पक्की पुलबाट हाम फालेका मंगला गाउँपालिका वडा नं २ तल्लो डडुवाका चमला बुढाथोकी (विवेक)सोमबार विहान करिब १० बजे कालीगण्डकी नदीमा हाम फालेको जानकारी आएलगत्तै खोजीकार्य गरेपनि फेला नपरेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

‘प्रत्यक्ष देख्नेहरु धेरै भेटिए,‘खोजीकार्य भइरहेको छ, थप अनुसन्धान समेत गर्दैछौ’ प्रनाउ कुँवरले भने । उनका अनुसार घरबाट उपचारका लागि बेनी अस्पतालमा आएका बुढाथोकी अस्पतालबाट निस्किएर हाम फालेको बताइएको छ ।

उनको परिवारमा श्रीमतिसँग लामो समयदेखि विवाद थियो । बेपत्ता बुढाथोकीले सोमबार विहान ७ बजेर १९ मिनेट जाँदा आफ्नो सामाजिक सञ्जालमा मर्ने भन्दै लेखेको देखिन्छ ।

उनले पछिल्लो एकबर्ष यता सधै आफुँलाई मार्न खोजेको र सिरिन्ज हानेको भन्दै सामाजिक सञ्जालमा लेख्ने गरेका थिए ।

एकबर्ष अगाडी बेपत्ता बुढाथोकी आफ्नो घर नजिकैबाट हाम फालेर समेत गम्भीर अवस्थामा उद्धार गरिएको थियो । डोजर चालक समेत रहेका बुढाथोकी केही दिन अगाडी मात्रै सिक्मिबाट घर आएका थिए।कालिगण्डकीमा बेपत्ता बुढाथोकीले प्रहरीलाई दिएको मोवाइलबाट थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

यसैबीच सोमबार नै पर्वत बेनी जोड्ने झोलुङे पुलबाट नदीमा हाम फालेका अर्का यूवा भने सकुशल छन् । आत्महत्या भन्दा पनि मदिरा सेवन गरेको र पौडी खेलेर निस्किएको प्रहरीले जनाएको छ । उक्त भिडियो अहिले सामाजिक सञ्जला समेत छ ।

Leave a Reply