बेनीमा रहेको म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना निर्धारित समयमै सम्पन्न भएको छ ।विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा पाँच कोठे एक तले भवन वनाउन २०७९ कात्तिक ४ गते उत्तरगङ्गा निर्माण सेवासँग रु ९५ लाख ८५ हजार चार सय १२ मा ठेक्का सम्झौता भएको थियो । भवनमा दुई वटा शौचालय पनि छन् । विसं २०७९ चैत २५ गतेसम्म ठेक्काको म्याद भएको भवन निर्माण व्यवसायीले चैत २२ गतेनै हस्तान्तरण गरेको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले जानकारी दिनुभयो ।

आयोगको रु एक करोड र क्याम्पसको रु ३४ लाख साझेदारी गर्ने गरी लागत अनुमान तयार गरिएको भवनको ठेक्का प्रतिस्पर्धामा सहभागी १२ मध्य सबैभन्दा कम कबोलेको उत्तरगङ्गासँग सम्झौता भएको हो।

क्याम्पसको भवनको नापजाँच गर्ने क्रममा ढिस्कोले पुरिएर उत्तरगङ्गाका सञ्चालक कृष्ण बरुवालको २०७९ मङ्सिर २१ गते मृत्यु भएको थियो । बरुवालको मृत्यु भए पनि उनका भाइ नवराजले जिम्मेवारी लिएर कम्पनीले ठेक्का लिएका आयोजनालाई पूर्णता दिनुभएको हो ।

“व्यवसायीले इच्छाशक्ति देखाएर पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गर्न सक्ने हो भने जस्तो सुकै असहज अवस्थामा पनि आयोजना सम्पन्न गराउन सकिने रहेछ”, क्याम्पस प्रमुख जिसीले भन्नुभयो, “आयोजना कार्यान्वयन गराउने पक्षले निगरानी, समन्वय र सहजीकरण गरेर काम गर्ने वातावरण बनाउने हो भने ढिलासुस्ती हटाउन सकिन्छ ।”

एमएड, बिआइसिटी र बिबिएको कक्षा सञ्चालन गर्न क्याम्पसले रु चार करोड ३३ लाख लागत अनुमानसहित चार तले भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएको छ । क्रमागत योजनाअन्तर्गत आगामी आर्थिक वर्षका लागि आयोगमा थप रु एक करोड ८७ लाख बजेट प्रस्ताव गरिएको छ ।

समुदायस्तरबाट सञ्चालित विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए)को प्रमाणपत्र पाएको क्याम्पसको पूर्वाधार र शैक्षिक कार्यक्रम विस्तारले तीव्रता पाएको छ । एक हजार दुई सय विद्यार्थी अध्ययनरत म्याग्दी क्याम्पसको हाल समग्र उत्तीर्ण प्रतिशत ३७ दशमलव ०५ प्रतिशत छ ।

Leave a Reply