म्याग्दी, २४ वैशाख । १९ वर्षअघि कारागारबाट भागेका म्याग्दीका एक जना कैदी पक्राउ परेका छन् ।
जिल्ला अदालत म्याग्दीले कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएका धवलागिरी गाउँपालिका–३ का ४८ वर्षीय लक्ष्मी प्रसाद बुढा (लक्षीना)लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरन लामाले यही वैशाख २१ गते पक्राउ परेका बुढालाई बाँकी कैद कट्टा गर्नका लागि अदालतको आदेश अनुसार कारागार चलान गरिएको आइतबार जानकारी दिनुभयो ।
बुढालाई वि.स. २०५९ फागुन १५ गते म्याग्दी जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो । वि.स. २०५७ फागुन १ देखि २०६० चैत ७ गतेसम्म तीन वर्ष दुई महिना ७ दिन कैद भुक्तान गरेका थिए ।
उनले थप १७ वर्ष १० महिना २३ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ । वि.स. २०६० चैत ७ गते भएको बेनी भिडन्तका क्रममा कारागारबाट भागेका बुढालाई विशेष सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो ।