म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङकी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिलु बुदुजाले बुधबार सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा तरक्क आँसु झारिन।  राजनीतिक तथा सामाजिक कार्यमा मात्रै नभई आफन्त र घरपरिवारबाट समेत तातो फलामले डामेजस्तै महसुस गरेकी बुदुजाले बोल्दा बोल्दै आँसु पुछ्दै रुन्चे स्वरमा बोल्दा केहीबेर गला नै अवरुद्ध भयो।

म्याग्दी जिल्लाका सार्वजनिक भएकी एक मात्रै तेस्रो लिङ्गी बुदुजाले बाल्यकालदेखि अहिलेसम्म भोकेको पारिवारिक, राजनीतिक तथा राज्यका संयन्त्रबाट गरिएको तल्लोस्तरको ब्यवहारका बारेमा खुलेर बोलिन्। उनी आँखाबाट आँसु निकालेर बोल्दै गर्दा वरिपरि रहेका अन्य सहभागीको समेत आँखा रसाए। समाजको चाहना अनुसार महिला र पुरुष नहुँदा भोकेको पीडा सुनाउँदै गर्दै कार्यक्रममा सहभागी महिलाको आँखा रसाएको थियो।

‘बाल्यकालदेखि अहिलेसम्म तेस्रो लिङ्गी भएकै कारण मसँग कहिल्यै मीठो बचन बोलेनन्,‘यौनहिंसादेखि धेरै लडाई पार गदैं यहाँसम्म आएको छु’ बुदुजाले भनिन्। हाउभाउ र बोल्ने शैली छोरीको जस्तै भएपनि शरीर पुरुषको भएकाले हिजडा भन्दै अपमान गर्ने गरेको उनले बताईन्। बि.स २०६८ सालमा महिलाको परिचयबाट तेस्रो लिङ्गीको नामबाट नागरिकता निकालेपछि राजनीतिक रुपमा पहिचान समेत गुमाएको उनले बताईन्।

उनले आफ्नो नाम दिलकुमारी बुदुजा देखेपछि ज्यान नै जोगाउन समस्या भएपछि आफुँले नागरिकताबाट कुमारी हटाएको बताईन्। ‘जागिरदेखि राजनीतिक अवसरसम्म तेस्रो लिङ्गीकै कारण बन्चित हुनुपर्यो,‘नेताहरूबाटै झण्डै बलात्कारको शिकार भए’ समावेशी मञ्च नेपालका अध्यक्ष बुदुजाले भनिन्। बोल्ने क्रममा घोप्टिएर आँसु लुकाउने प्रयास गरेकी बुदुजाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भएकै कारण राजनीतिक रुपमा समेत  उम्मेदवार बनाउनबाट बन्चित गराएको गुनासो गरिन्।

हत्तपत्त आँसु नखसाल्ने बुदुजाले पत्थरको जस्तै मुटु भएपनि आफ्नो जीवनमा भोकेको समस्याले रुँन बाध्य भएको बताईन्। गएको प्रतिनिधिसभाको निर्वाचनमा म्याग्दीबाट प्रतिनिधिसभाका लागि  नेकपा एकीकृत समाजवादीको तर्फबाट समानुपातिककी उम्मेदवार समेत रहेकी बुदुजाले प्रणालीमा परिवर्तन र राज्यबाट सहयोग नपाएको गुनासो गरिन्।

उनले निर्वाचन आयोग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक बिरोधी भएकाले कानुनी लडाई लडेर मात्रै उम्मेदवार बन्न सफल भएको बताईन्। बि.स २०७४ सालको स्थानीय चुनावमा उम्मेदवारी दिन चाहेपनि आफ्नै पार्टीले पहिचानसहितको नागरिकताले उम्मेदवारी खारेज हुने भन्दै अवरोध गरेको बताईन्।

‘मैले राजनीतिक यात्रा छोड्दैन्,‘लैङ्गिक पहिचानबाटै संसदमा पुगेर आफ्नो नाम राख्ने छु’ बुदुजाले भनिन्। बुदुजाले भोगिरहेको समस्यालाई “विभेदको फरक स्वरूप र राज्यको नजरमा दोस्रो दर्जाको नागरिकको संज्ञा दिएकी छन्। म्याग्दीमा आफुँजस्ता धेरै भएपनि परिचय खुलाउन नसक्ने अवस्था रहेको बताईन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले हरेक निकायमा व्यवधान झेल्नु पर्ने भएकाले अबको लडाई कानुनी र प्रतिरोत्धात्मक हुने उनीहरुको भनाई छ। म्याग्दीको स्थानीय तहका जनप्रतिनिधिहरुले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक, अधिकारको सुरक्षा र कार्यान्वयनका लागि आफूहरु संवेदनशील रहेको प्रतिबद्धता जनाएका छन्।

नेपालको संविधानले धारा १२ मा नागरिकताको हक, धारा १८ मा समानताको हक र धारा ४२ मा सामाजिक न्यायको हकमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको हक सुरक्षित गरेको छ। नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको जनसङ्ख्या १० लाख रहेको जनाइएको छ। सामान्यतयाः कोही व्यक्ति शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाको रूपमा मान्छन वा कोही शारीरिक रूपमा महिलाको रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबले आफूलाई पुरुष ठान्छ भने उनीहरु लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायभित्र पर्दछन्।

Leave a Reply