नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको सभापतिमा पुनः अमरबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । आज (बुधवार) म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न नेत्रज्योति संघ म्याग्दीको दोस्रो साधारणसभा तथा अधिवेशनबाट दोस्रो कार्यकालका लागि पुनः बानियाँ सभापतिमा निर्वाचित हुनुभएको हो ।

संघको सदस्यहरुमा राजेन्द्रकुमार श्रेष्ठ, बसुधा श्रेष्ठ, गोविन्द बानियाँ, मुक्तिबहादुर खड्का, गंगा बानियाँ, सोमनाथ उपाध्याय, लक्ष्मण केसी, कृष्णबहादुर बानियाँ, लालबहादुर भण्डारी, सुवास श्रेष्ठ, विनोद श्रेष्ठ र यामबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । संघको पहिलो वैठकले विधानअनुसार सभापतिले उपसभापति, सचिव, कोषाध्यक्ष, उपसचिव र उपकोषाध्यक्ष मनोनित गर्ने जनाइएको छ ।

यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नेत्रज्योति संघले स्थापनाको छोटो समयमा नै अत्यन्त सराह्रनीय काम गरेको बताउनुभयो । उहाँले आगामी दिनमा नेत्रज्योति संघ म्याग्दी शाखाले बेनी नगरपालिका क्षेत्रमा विद्यालय नर्सको सहयोगमा विद्यालयस्तरमा आँखा तथा कानसम्बन्धी शिविर सञ्चालन गर्न सुझाव दिनुभएको छ ।

नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष प्राध्यापक डाक्टर दिलबहादुर क्षत्रीले नेत्रज्योति संघ सबैको साझा संस्था भएको बताउँदै संघले कुनै जात, धर्म, भाषा, लिङ्ग र राजनीति नगर्ने बताउनुभयो । उहाँले नेत्रज्योति संघको मुख्य उद्देश्य समुदायमा रहेको अन्धोपन निवारण गर्ने उद्देश्य रहेको बताउँदै संघलाई जिल्लामा आँखासम्बन्धी गतिविधि र शिविर सञ्चालन गर्ने विषयमा स्थानीय सरकारहरुले सहयोग गर्न आग्रह गर्नुभयो । नेपाल नेत्रज्योति संघका केन्द्रीय सचिव हरिप्रसाद शर्माले नेत्रज्योति संघले देशभर झण्डै ९० प्रतिशत नागरिकमा आँखाको उपचार गर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, हिमालय आँखा अस्पताल पोखराका व्यवस्थापन समिति सदस्य प्रा.डा. ज्ञानबहादुर कार्की, नेपाल नेत्रज्योति संघ बागलुङ शाखा सभापति भरत पुरी, म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवर, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, नेत्रज्योति संघका सल्लाहकार हरिकृष्ण श्रेष्ठ र आजीवन सदस्य विष्णु रोकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभाको उद्घाटनसत्रमा नेत्रज्योति संघ म्याग्दीका सचिव राजेन्द्रकुमार श्रेष्ठले प्रगति र कोषाध्यक्ष बसुधा श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेत्रज्योति संघ म्याग्दी शाखा सभापति अमर बानियाँको अध्यक्षता र सचिव श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपसचिव गोविन्द बानियाँले स्वागत गर्नुभएको थियो ।

Leave a Reply