---Advertisement---

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ बर्षपछि पक्राउ

On: May 12, 2023 10:49 PM
Follow Us:

जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तव्य ज्यान मुद्दाको फैसलाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । म्याग्दी जिल्ला अदालतले फैसला गरेको १३ वर्षपछि फरार प्रतिवादी म्याग्दीको बेनी नगरपालिका-९, घतानका गंगाबहादुर सार्की भन्ने गंगबिर सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गंगबिर सार्कीलाई वि.सं. २०६२ साल भदौ ३० गते दिलमाया सार्कीको जाहेरीमा जिल्ला अदालतले वि.सं. २०६७ साल माघ १८ गते २० वर्षको कैद भुक्तानका लागि दोषी ठहर गर्दै सजाय सुनाएको थियो ।

अदालतको फैसलापछि हालसम्म फरार रही विभिन्न आवरणमा लुकिछिपी बसिरहेका सार्कीलाई विशेष सूचनाको आधारमा हिजो (बिहीबार) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी किरण लामाले बताउनुभयो ।

फरार प्रतिवादी सार्कीलाई कास्कीको पोखरा महानगरपालिका–३२, गगनगौंडाबाट पक्राउ गरी म्याग्दी जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार जिल्ला कारागार कार्यालय म्याग्दीमा पठाइएको प्रहरी निरीक्षक लामाले जानकारी दिनुभयो । यसअघि पनि प्रहरीले फरार प्रतिवादी लक्ष्मीप्रसाद बुढाथोकीलाई पक्राउ गरेको थियो ।