म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा वडानम्बर ५ पुलाचौरमा सञ्चालित पशु स्वास्थ्य शिविरबाट एकसय ५३ जना किसानहरु लाभान्वित भएका छन् । पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरमार्फत ग्रामीण भेगका किसानहरुले पालेका पशुपन्छीको उपचार गरिएको हो ।

शिविरमा पुलाचौरका एकसय ५३ जना किसानहरुले पालेका २२ सय पशुपन्छीहरुको उपचार गरिएको बेनी नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ । एकदिन चलेको उक्त पशु स्वास्थ्य शिविरमा किसानहरुलाई पशु स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्रदान, औषधी उपचार, बन्ध्याकरण, पशु चौपायाको गर्भ परीक्षण र पशुलाई खुवाउनका लागि किसानहरुलाई निःशुल्क रुपमा औषधीहरु वितरण गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै बेनी नगरपालिका–५, पुलाचौरका वडा सदस्य एवं कृषि तथा पशु समिति संयोजक डम्बरबहादुर बानियाँले ग्रामीण भेगका किसानहरुलाई लक्षित गरेर वडामै पशु चौपायाको उपचार गर्नेगरी नगरपालिकामार्फत पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले शिविरमा पशु, चौपायामा देखिएको रोगको लक्षणको आधारमा किसानहरुलाई औषधी वितरण गरिएको बताउँदै पशुपन्छीलाई संक्रमणजन्य रोगबाट जोगाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वागत तथा उद्देश्यमाथि प्रकाश पार्दै बेनी नगरपालिकाको पशु सेवा शाखाका प्रमुख प्रदीप गौतमले प्राविधिक सेवा सहज रुपमा उपलब्ध गराउन नसकिएको ठाउँमा पशु स्वास्थ्य शिविरको आयोजना गर्ने गरिएको जानकारी दिनुभयो । कार्यक्रम वडा सदस्य बानियाँको अध्यक्षता र नायव पशु स्वास्थ्य प्राविधिक कविता आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply