गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्थापन मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले भेटघाट र शुभकामना दिन आउनेहरुलाई खादा र माला नल्याउन आग्रह गर्नुभएको छ ।
म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक समेत रहेका जुग्जालीले शुभकामना दिन आउनेहरुलाई माला र खादाको प्रयोग नगर्न आग्रह गर्नुभएको हो ।
“बधाई तथा शुभकामना दिन आउनुहुने सम्पूर्ण महानुभाव हरुलाई खादा तथा मालाको कष्ट र झञ्जट नगरिदिनुहुन अनुरोध गर्दछौ,” मन्त्री जुग्जालीको सचिवालयले आइतबार बिहान जारी गरेको सूचनामा उल्लेख छ ।
खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा फजुल खर्च हुने भएकाले यस्तो निर्णय गरिएको मन्त्री जुग्जालीका स्वकीय सचिव सुदिन पौडेलले जानकारी दिनुभयो ।
शुक्रबार पद तथा गोपनीयताको सपथ र कार्यभार सम्हाल्नु भएका जुग्जालीले प्रादेशिक सडकहरुको गुरुयोजना तयार पार्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र बजेट निर्माणमा जुटेको मन्त्री जुग्जालीले बताउनुभयो ।
यसअघि एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा करिब दुई महिना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएका जुग्जाली काँग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वका प्रदेश सरकारमा भौतिक मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

Leave a Reply