म्याग्दीमा ट्राफिक सप्ताह कार्यक्रमबाट साढे २२ हजार बढी सर्वसाधारण तथा नागरिकहरु लाभान्वित भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको संयुक्त आयोजनामा यही बैशाखको २५ गतेदेखि आज (आइतबार)सम्म सञ्चालित ट्राफिक सचेतना कार्यक्रमबाट जिल्लामा कुल २२ हजार ५ सय ५८ जना सर्वसाधारणहरु लाभान्वित भएका हुन् ।

यो अवधिमा १५ पटकसम्म ट्राफिक जनचेतनामूलक माईकिङ गरी ४८ सयजना सर्वसाधारणहरु लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । यसैगरी ४ सय ८ वटा सवारीसाधनमा १५ पटकसम्म स्टिकर टाँसिएको छ भने ३१ सय थान ट्राफिक जनचेतनामूलक पर्चाहरु वितरण गरिएको थियो । त्यस्तै ८ पटकसम्म ट्राफिक स्वयंसेवकहरु परिचालन गरेर समुदायस्तरमा ट्राफिक सचेतना फैलाइएको छ ।

त्यसैगरी ट्राफिक सप्ताहकै अवधिमा ७ सय ४५ जनालाई माक्स वितरण, १५ जनालाई हेल्मेट, सिटबेल्टको प्रशिक्षण दिइएको छ भने १३ पटकसम्म सवारीसाधनमा आरक्षण सिटको अनुगमन गर्दा ५ सय ९० जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मदन कुँबरले बताउनुभयो ।

छत तथा हुटमा यात्रु प्रशिक्षण कार्यक्रम ७ पटक सञ्चालन गरिएकोमा ८ सयजना लाभान्वित भएको बताउँदै ८ पटकसम्म ग्रामीण सडकलक्षित प्रशिक्षण कार्यक्रममार्फत १२ सय २५ जना लाभान्वित भएको उहाँले जानकारी दिनुभयो ।

सवारीसाधनको सिट क्षमताभन्दा बढी यात्रु नबोक्न ९ पटक प्रशिक्षण दिइएको छ भने ६ सय ७५ जना लाभान्वित भएका छन् । ७ पटकसम्म ३ सय २५ जना चालक र परिचालकलाई प्रशिक्षण दिइएकोमा सवारीसाधनको अनुगमन पनि गरिएको छ भने सवारीको तीव्र गति नियन्त्रण र ओभरटेकसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको थियो ।

ट्राफिक सप्ताहअन्तर्गत चालक र सहचालकको स्वास्थ्य चेकजाँच, भाडादर अनुगमन, सवारीसाधनको मेकानिकल प्रशिक्षण, चालकको पोशाक अनुगमन, विद्यार्थी–यात्रु सचेतना तथा सेना र सशस्त्र प्रहरीलाई समेत प्रशिक्षण दिइएको प्रनाउ कुँबले बताउनुभयो । उहाँका अनुसार ट्राफिक सप्ताहमा २ सय ६९ पटकसम्म सचेतनाका कार्यक्रम भएका छन् ।

यसैबीच आइतबार नै ट्राफिक सप्ताहको औपचारिक रुपमा समापन गरिएको छ । कार्यक्रममा प्रनाउ कुँबरले स्वागतसहित ट्राफिक सप्ताहमा सञ्चालित कार्यक्रमहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले नागरिक सुनुवाई कार्यक्रम पनि आयोजना गरेको थियो ।

कार्यक्रममा प्रनाउ कुँबरले पछिल्लो तीन महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयबाट सम्पादित कार्यक्रमहरुको बारेमा साथै विभिन्न गतिविधिहरुको विषयमा जानकारी गराउनुभएको थियो । नागरिक सुनुवाई कार्यक्रममा डिबी दाहाल, क्या. झलप्रसाद गौचन, कल्पना खत्री, कुलप्रसाद श्रेष्ठ, कृष्ण जिसी, प्रताप बानियाँ, नवीना केसी र सुदर्शनकुमार श्रेष्ठ बोल्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले समाजमा घट्ने अपराधजन्य क्रियाकलापहरुको न्युनीकरण गर्नको लागि सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । उहाँले जबरजस्ती करणी, बलात्कार, आत्महत्यालगायत घटनाहरु हुन नदिन सरोकारवाला पक्ष सबैले आ–आफ्नो जिम्मेवारी निभाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम बेनी नगरपालिका–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षता र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुमार गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply