म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । युएसआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा जिल्लामा सञ्चालित सुआहारा कार्यक्रमबाट उपलब्धि सिकाइहरुको आदानप्रदान गरिएको हो ।

जिल्ला र पालिकाहरुमा सञ्चालित पोषण तथा स्वास्थ्यका कार्यक्रमहरुको उपलब्धि र प्रभावको बारेमा तथा सिकाइ एवं आगामी प्राथमिकताहरुबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको थियो । सन् २०१६ को अप्रिलदेखि सन् २०२२ को अक्टुबरसम्म म्याग्दी जिल्लामा सुआहारा दोस्रो चरणको कार्यक्रम सञ्चालन भएकोमा यस अवधिमा पोषण र स्वास्थ्यका क्षेत्रहरुमा विभिन्न कार्यक्रम तथा गतिविधिहरु गरिएको छ ।

पाँच वर्षको यो अवधिमा सुआहारा कार्यक्रमको सहयोगबाट म्याग्दीमा सुनौलो हजार दिनका आमाहरुलाई घरभेट गरी परामर्श दिनुका साथै ३ सय ६६ जना किशोरीहरुलाई महिनावारी सरसफाइ व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । यसैगरी सोही अवधिमा ४६ जना महिला किसानहरुलाई व्यावसायिक योजना तयारी र बजारीकरणसम्बन्धी तालिम प्रदान गरिएको छ भने २ सय ४४ स्वस्थ घरको रुपमा पहिचान गरिएको थियो ।

त्यस्तै पोषण, मातृ शिशु स्वास्थ्य, परिवार योजनासम्बन्धी एसएमएस पठाइएको थियो भने रेडियोबाट भन्छिन् आमा कार्यक्रम प्रसारण गरिएको थियो ।सोही अवधिमा जिल्लामा ८ सय १७ पटक पोषिलो खाना प्रदर्शनी, ३ हजार २ सय ९९ वटा जीवनका महत्वपूर्ण क्षण मनाइएको छ भने २८ जना पुरुष जेसी च्याम्पियनहरुलाई तालिम प्रदान गरिएको सुआहारा कार्यक्रमले जनाएको छ ।

त्यसैगरी ६४ जना साथी सहजकर्तालाई तालिम प्रदान गरिएकोमा ७० जना कृषि समूहका सदस्यहरुलाई बचत तथा ऋणसम्बन्धी तालिम, पालिका र वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन, १८ जनालाई जलवायुमैत्री कृषि, प्रविधिसम्बन्धी अभिमुखीकरण, स्वास्थ्य कार्यकर्ता र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई तालिम र विभिन्न १४ वटा बहिरङ्ग उपचार केन्द्रहरुको सबलीकरण र सहयोग गरिएको छ ।

कार्यक्रममा जिल्लाको पोषण तथा स्वास्थ्यका सूचकहरुमाथि सहजीकरण गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले अहिले पनि कम तौलका बच्चाहरु जन्मिने गरेको बताउनुभयो । कार्यक्रममा निमित्त प्रमुख लम्सालसहित स्वास्थ्य कार्यालयका कोल्चेन सुपरभाइजर वीरेन्द्रकुमार चौधरी, सुआहारा कार्यक्रमका सुशासन विज्ञ सुनिल खतिवडा, सुआहारा म्याग्दीका वरिष्ठ पोषण विज्ञ बालकुमारी पुनले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा सुआहारा कार्यक्रमको तर्फदेखि प्रशंसापत्र र जिल्ला समन्वय समिति म्याग्दीले कदरपत्रले मिलन म्याग्दीलाई सम्मान गरिएको थियो ।कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले म्याग्दीमा पोषण तथा स्वास्थ्यको अवस्था सुधार्नको लागि सुआहारा कार्यक्रम र मिलन म्याग्दीले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्नुभयो ।

उहाँले आगामी दिनमा म्याग्दी जिल्लाको पोषण तथा स्वास्थ्यको अवस्था सुधार गर्न पालिकाहरुले आवश्यक कार्यक्रम बनाएर सञ्चालन गर्नुपर्ने बताउँदै जिल्ला समन्वय समितिले सहजीकरण गर्ने बताउनुभयो । उहाँले स्थानीयस्तरमा कार्यक्रम सञ्चालन गर्दा सबैले सरोकारवालासँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रमेश थापा, किरण सिग्देल, डा. अन्जु थापा, दीपक पौडेल र मौसमी गोदारले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो भने महिला स्वास्थ्य स्वयंसेविका भावना पौडेल र जेसी च्याम्पियन भीमबहादुर पूर्जाले अनुभव सुनाउनुभएको थियो । कार्यक्रम जिसस प्रमुख थापाको अध्यक्षता, मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाको धन्यवाद मन्तव्य र कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply