भारतको आसाम पुर्याई युवती बेचबिखन गरेको आरोपमा एकजना पक्राउ परेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने ३० वर्षीया अप्सरा भन्ने एलिना खत्रीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार खत्रीका एक सहयोगीले विसं २०७९ कात्तिक २४ गते एक युवतीलाई नुवाकोटबाट बस चढेर काठमाडौँमा आफन्त भेट्न आउने क्रममा खानेकुरा तथा पानीमा बेहोस पार्ने औषधि मिसावट गरेर खुवाएका थिए ।

पीडित युवती बेहोस् भएपछि उनले गिरोहसँगको मिलेमतोमा भारतको आसाम राज्यको सिल्चरको कोठीमा बेचेका थिए । त्यसपछि खत्रीलगायतले पीडितलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएर राखेको प्रहरीले जनाएको छ ।

त्यसपछि नेपाल प्रहरीले भारतीय प्रहरी र माइती नेपालको सहयोगमा पीडितको उद्धार गरेको थियो । पीडितले दिएको जाहेरीका आधारमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा आजै अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार पीडित युवतीलाई बेचबिखनमा लगाउनेमा उनीसहित नेपाल र भारतका ६ जनाको संलग्नता रहेको खुलेको छ । खत्री यसअघि पनि मानव बेचबिखन अपराधमा संलग्न रहेको पाइएको छ । गत मंसिरमा उनी अदालतको आदेशले एक लाख ५० हजार रुपैयाँ धरौटी तिरेर तारिखमा छुटेको पाइएको छ ।

Leave a Reply