म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी अस्पताल परिसरमा सञ्चालित हार्डजोर्नीसम्बन्धी निःशुल्क शल्यक्रिया शिविरबाट १२ सयबढी लाभान्वित भएका छन् । गएको शनिवारदेखि सोमबारसम्म सञ्चालित शिविरमा कुल १२ सय ४० जना सर्वसाधारणहरु लाभान्वित भएका हुन् ।

उक्त शिविरमा सानो र ठूलो गरी ६२ जनाको शल्यक्रियामार्फत सफलतापूर्वक उपचार गरिएको नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी काठमाडौंका वरिष्ठ प्रशासकीय अधिकृत धिरज मैनालीले जानकारी दिनुभयो ।

शिविरमा एक महिलाको खुट्टामा रहेको ५ किलोको ट्युमरको जटिल शल्यक्रिया समेत भएको छ । निःशुल्क सर्जिकल विशेषज्ञ शिविर लिएर बेनी अस्पताल आएको नेपाल अर्थोपेडिक्स अस्पतालका चिकित्सकहरुको टोलीले आइतबार ट्युमर निकालेको थियो । चिकित्सकको उक्त टोलीले ५६ वर्षीया ती महिलाको ‘न्यूरोफिब्रोम्याटोसिस’ नामक ट्युमरको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

उनको खुट्टाको तिघ्रामा विगत १२ वर्षदेखि ५ किलोको ट्युमर झुण्डिरहेको थियो । ‘१०–१२ वर्षदेखि उहाँ खुट्टामा ५ किलोको ट्युमर लिएर हिँडिरहनुभएको थियो,’ नेपाल अर्थोपेडिक्स अस्पतालका निर्देशक एवं वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. कैलाश भण्डारीले भन्नुभयो, ‘हामीले उहाँको खुट्टाबाट ५ किलोको ‘न्यूरोफिब्रोम्याटोसिस’ ट्यमुर काटेर निकाल्यौं ।’

उक्त ट्युमरको शल्यक्रिया गर्न चिकित्सकहरुको टोलीलाई ६ घण्टाको समय लागेको थियो । बिहान १० बजे चिकित्सकहरुले ती महिलाको ट्युमरको शल्यक्रिया सुरु गरेका थिए, जुन दिउँसो ३ बजे मात्रै सकिएको थियो ।

निःशुल्क हार्डजोर्नीसम्बन्धी शल्यक्रिया शिविरमा खुट्टाको पैताला फर्किएका, जन्मजात रुपमा हातखुट्टा बाङ्गिएका, हात वा खुट्टाको बिकृतिजन्य समस्याहरु भएका, हात वा खुट्टा भाँचिएका, हात र खुट्टा भाँचिएपछि बाङ्गिएर जोडिएका, भाँचिएको ठाउँमा पाता वा किला राखिएका, हातखुट्टाको गाँठागुठी र आगोले पोलेका जस्ता रोग तथा समस्याहरु लिएर आएका सर्वसाधारण, बिरामीहरुको उपचार गरिएको वरिष्ठ प्रशासकीय अधिकृत मैनालीले बताउनुभयो ।

उक्त शिविर नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौंको प्राविधिक सहयोगमा बेनी नगरपालिका म्याग्दी, स्वास्थ्य कार्यालय म्याग्दी, बेनी अस्पताल र रोटरी क्लब अफ काठमाडौं वेष्टको संयुक्त आयोजनामा सञ्चालन भएको थियो ।

शिविरलाई मेड सोलुसन फाउण्डेसन स्वीटजरल्याण्डको आर्थिक सहयोग रहेको जनाइएको छ । सो शिविरमा नेपाल अर्थोपेडिक्स अस्पतालका निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. कैलाश भण्डारीको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकहरुसहितको १८ जनाको टोलीले बेनी अस्पतालमा सञ्चालित निःशुल्क हाडजोर्नीसम्बन्धी शल्यक्रियाको सेवा प्रदान गरेको थियो ।

साथै, चिकित्सकहरुको टोलीले अन्य हाडजोर्नीसम्बन्धी ओपिडी (बहिरङ्ग) सेवा पनि उपलब्ध गराएका थिए ।

बेनी अस्पतालमा सञ्चालित निःशुल्क हार्डजोर्नी शिविरमा म्याग्दी जिल्लासहित छिमेकी पर्वतको जलजला गाउँपालिका र हिमालपारीको जिल्ला मुस्ताङ तथा बागलुङको पश्चिम भेगबाट समेत सर्वसाधारण, बिरामीहरु उपचार सेवा लिन आएका थिए ।

दुर्गम तथा हिमाली जिल्लामा हार्डजोर्नीसम्बन्धी समस्याको निःशुल्क रुपमा शल्यक्रियामार्फत उपचार सेवा लिन पाउँदा स्थानीयस्तरका सर्वसाधारणहरु दङ्ग परेका छन् । म्याग्दीमा विभिन्न संघसंस्थाहरुको आयोजनामा समय समयमा स्वास्थ्यसम्बन्धी शिविरहरु हुँदै आइरहेको छ ।

Leave a Reply