म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयमा  (शुक्रवार) क्याप्टेन र भाइस क्याप्टेन छान्नका लागि निर्वाचन भएको छ । विद्यालयको क्याप्टेन र भाइस क्याप्टेनमा आकांक्षी विद्यार्थीहरु धेरै भएपछि निर्वाचन प्रक्रियामार्फत क्याप्टेन र भाइस क्याप्टेन छानिएको हो ।
कुल ३ सय ६ मत खसेकोमा छात्रा १ सय ७० जना र छात्र १ सय ३६ जनाले निर्वाचन प्रक्रियामा सहभागी भएको निर्वाचन अधिकृत खगेश्वर रिजालले जानकारी दिनुभयो । निर्वाचन प्रक्रियाबाट छात्रतर्फ कक्षा १० का नवीन परियारले १ सय ३६ मत ल्याएर क्याप्टेन पदमा निर्वाचित भएको विद्यालयका सहायक प्रधानाध्यापक टेकप्रसाद सुवेदीले बताउनुभयो । भाइस क्याप्टेनतर्फ कक्षा ९ का भिजन सिर्पालीले १ सय ३२ मत ल्याएर विजयी भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी भाइस क्याप्टेनमा छात्रातर्फ कक्षा १० मा अध्ययनरत सिद्धिका पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन प्रक्रिया विद्यालयको प्राङ्गणमा शुक्रवार दिउँसो १ बजेदेखि ३ बजेसम्म चलेको थियो । प्रदेश र संघको झल्को दिने गरी निर्वाचन प्रक्रिया सञ्चालन गरिएको थियो । विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाको बारेमा बुझाउने उद्देश्यसहित विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन चयनका लागि निर्वाचन गरिएको प्रकाश माविले जनाएको छ ।

निर्वाचन प्रक्रियामा विद्यालयको कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले भाग लिएका थिए । विद्यालयको बाहिरी र भित्री वातावरण बालमैत्री तथा आकर्षक बनाई प्रकाश माविलाई आम विद्यार्थी र अभिभावकहरुको पहिलो रोजाइमा पार्नका लागि विद्यालयका गतिविधिहरुमा विद्यार्थीहरुको सक्रिय सहभागिता बढाउँदै प्रजातान्त्रिक पद्धतिको विकास गराउन क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन गरिएको जनाइएको छ । आधारभूत र माध्यमिक तहको सामाजिक विषयमा समेत निर्वाचनसँग सम्बन्धित सैद्धान्तिक विषयवस्तुलाई व्यवहारिक बनाउनका लागि पनि निर्वाचनको प्रक्रिया अबलम्बन गरिएको निर्वाचन अधिकृत रिजालले बताउनुभयो ।

Leave a Reply