संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलो पटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि.)को आधार शिविर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट एक दिनमै पुगिने पुग्न सकिन्छ ।

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तरगत् अन्नपूर्ण गापा–४ नारच्याङको हुमखोलासम्म सडक सञ्जाल पुगेपछि त्यहाँबाट पैदलयात्रा गरी आधारक्षेत्रसम्म एकैदिनमा पुग्न सहज भएको हो ।

नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारीसाधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुदै आधार क्षेत्रसम्म पुगिन्छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म आइपुगिन्छ । त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्रसम्म पुगिन्छ ।

पदमार्ग निर्माणका लागि नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले दुई करोड ८० लाख बजेट सहित गाउँपालिकाले समेत छोटेपा, हुमखोला, फुतफुते झरना,सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ वटा खोलामा झोलुंगे पुल निर्माणका साथै सानोठुलो गरी ६ स्थानमा आश्रयस्थल निर्माण भएसँगै छोटो र लामो दुरीमा आधार क्षेत्रसम्मसम्म जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुुबेदीले बताए ।

‘छोटो समयका लागि यात्रा गर्नेलाई समेत अन्नपूर्ण बेसक्याम्प सहज भएको छ,‘अव नारच्याङबाट एकैदिनमा पुगिन्छ, अर्को दिन गन्तब्यसम्म फर्किन सकिन्छ’ सुबेदीले भने। उनले आन्तरिक पर्यटकका लागि छोटो दुरीको प्याकेजमा १ दिने, ३ दिने र लामो दुरीका लागि ७ दिनसम्म सहज हुने बताए ।

होमखोलाबाट एकदिनमा आधार क्षेत्रमा पुगेर अर्को दिन होमखोलामै बास बस्ने वा सवारीसाधनबाट पोखरेबगरसम्म यात्रा गर्न सकिने उनले बताए । आधार शिविरसम्म पुग्ने ठाउँ–ठाउँमा निर्मित आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधारले समेत सहज भएको बताए।

पदमार्गस्थलमा रहेको झोलुङे पुल मर्मतकार्य समेत भइरहेको बताए । पदमार्ग अन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ वटा खोलामा झोलुंगे पुल मर्मतकार्य समेत भइरहेको छ।

पदमार्ग अन्तरगत भीमकाय चट्टानको बीचबाट प्वाल पारेर बग्ने हरियो, निलो रङको फुतफुते झरना, लस्करे रहेको पञ्च झरना, पहाडमा मानवनिर्मित जस्तै देखिने गुफा र आधार क्षेत्रमा पुगेपछि अन्नपूर्णको फेदमा निलो पञ्च ताल आर्कषण रहेको बताए ।

आधार क्षेत्रमा हेलिकप्टरबाट आवतजावत धेरै भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउन पदयात्राको क्रममा निर्मित आश्रयस्थलमा खाना पकाउन सहज हुने गरी आसपासका क्षेत्रमा समेत खानेपानी सहितको थप ब्यवस्था गर्ने योजना सहित गाँउपालिकाले प्रदेश र संघीय सरकार समक्ष बजेट समेत माग गरिने गाउँपालिका अध्यक्ष भरत कुमार पुनले बताए ।

पदयात्रीको सुरक्षाका लागि अन्नपूर्ण गाउँपालिकाले विभिन्न स्थानमा सम्पर्क नम्बर सहितको जानकारी समेत राखिदिएको छ ।

‘अन्नपूर्ण आधार क्षेत्र छोटो दुरीको सुरक्षित गन्तब्य हो,‘पर्यटकलाई पदमार्गमा कुनैपनि अभाव हुने छैन’ अध्यक्ष पुनले भने। विश्वमा नेपाललाई चिनाउने फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको परिवार समेत आधार क्षेत्रसम्म आउने योजना रहेको बताए ।

उनले आगामी बजेटमा गाउँपालिकाको बजेटसँगै संघीय, प्रदेश सरकार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लगायतका पर्यटन सम्बन्धि संस्थासँग समेत सहकार्य गरी पूर्वाधारमा बजेट खर्च गरिने बताए ।

उनले अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन गाउँपालिकाको गौरवको योजना अन्तरगत रहेको बताए ।

आधार क्षेत्रमा मोवाइलको नेटर्वक नहुदाँ समस्या भएकाले सम्बन्धित निकायलाई अति आवश्यकता अन्तरगत सञ्चारको सहज पहुँचका लागि समेत पहल गरिने उनले बताए ।

अन्नपूर्ण हिमाल पछिल्लो समय आरोहणका लागि आरोहीको रोजाईमा परेकाले आधार क्षेत्रमा सञ्चारको सहज पहुँचको आवश्यकता रहेको विभिन्न टे«किङ एजेन्सीको समेत भनाई छ ।

पदमार्ग अन्तरगत अक्करे भिरमा समेत सहज पूर्वाधार बनाइएकाले पहिलोपटक पदयात्रामा निस्कनेलाई समेत सहज भएको आधार क्षेत्रमा रहेका काठमाडौंस्थित सेभन समिट ट्रेक्सका रवि थापाले बताए ।

सोही अभियान अन्तरगत प्रमुख प्रशासकीय अधिकृतसुवेदीको नेतृत्वमा कार्यपालिकाका सदस्य, पर्यटन व्यवसायी र पत्रकारहरु सहित ३० जनाको टोली नारच्याङ–छोटेपा–हुमखोला हुदै आधार शिविरमा पुगेर फर्किएका थिए ।

सात दशकअघि सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रच्ने मौरिस हर्जोग र उनको टोलीले हिँडेको पूरानो मार्ग पछ्याउँदै फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको आधारक्षेत्रमा शालिक समेत बनाइने छ ।

मौरिसले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । मौरिस नेपाललाई हिमाल आरोहणबाट विश्वमा चिनाउने पहिलो बिदेशी आरोही हुन् ।

उनको सम्झनार्मा नारच्याङका तेज गुरुङको अगुवाईमा वि.स. २०६८ मा पहिचान भएको मौरिज हर्गोज पदमार्गको प्रचारप्रसारका लागि यसअघि वि.स. २०७६ मा प्रथम अन्नपूर्ण महोत्सवको आयोजना गरिएको थियो । मानव वस्ती देखि टाढा रहेको आधार शिविर आसपासका क्षेत्रमा अझैपनि मौरिसका बारेमा ढुंगामा लेखेका अभिलेख पाइन्छ।

अन्नपूर्ण आधार क्षेत्रमा रहेको करिब २० हजार मिटरको पञ्चकुण्ड ताल । तस्वीर हरिकृष्ण गौतम

Leave a Reply