म्याग्दी – ‘सबैका निम्ती सम्पूर्ण अधिकार’ भन्ने मु्ल नारासहित मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स)जिल्ला शाखा म्याग्दीले ज्ञापनपत्र पठाएको छ । देशमा पछिल्लो समय चर्चाको विषय बनेको नक्कली भुटानी शरणार्थी प्रकरण तथा बढ्दै गैरहेको भ्रष्टाचारलगायत विषयलाई केन्द्रीत गरेर आज (आइतबार) केन्द्रीय निर्देशनअनुसार मानवअधिकार एलायन्स म्याग्दीले प्रमुख जिल्ला अधिकारी तुसीराम पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

मानवअधिकार एलायन्सले नक्कली भुटानी शरणार्थी बनाई नेपाली  नागरिकलाई तेस्रो मुलुकमा पठाउने कार्यमा सरकारका केही उच्चपदस्थ कर्मचारी, पुर्वमन्त्री लगायतका व्यक्तिहरु समेत संलग्न भएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमार्फत जनाएको छ ।

यसैगरी सरकारकै केही कर्मचारी, केही मन्त्री र उनीहरुका आफन्तका व्यक्तिहरु समेत संलग्न भई गलत ढङ्गले नागरिकहरुलाई अन्य मुलुकमा पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अङ्गहरुको दुरुपयोग भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । नीति निर्माता र राज्य सञ्चालकहरु नै मानव तस्करीलगायत अपराधिक गतिविधिहरुमा संलग्न हुनु भनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनीतिक दलहरु र कानुनी शासनप्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पु¥याउने विषय भएको मानवअधिकार एलायन्सको दावी छ ।

यस्ता अपराधिक घटनाहरु कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न र दोषीमाथि कडाभन्दा कडा कारवाहीको लागि मानवअधिकार एलायन्सबाट जोडदार रुपमा माग गरिएको ज्ञापनपत्रमार्फत जानकारी दिएको छ । आम जनसमुदायमा राज्यव्यवस्था, राज्यका अङ्ग तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था तथा राजनीतिक दलहरुप्रति विश्वास र भरोसा
सिर्जनाका लागि विभिन्न समयमा भएका भष्ट्राचारसम्बन्धी सम्पूर्ण घटनाहरुको निष्पक्ष र पारदर्शी ढङ्गले छानबिन गर्नुपर्ने मानवअधिकार  एलायन्सको माग छ ।

यस्ता विविध घटनाहरुमा संलग्न दोषीलाई कानुनको कठघरामा उँभ्याउन र मुलुकमा विद्यमान कुनै पनि प्रकारका मानव तस्करी नियन्त्रण गर्न नेपाल सरकारसमक्ष माग समेत गरिएको छ । साथै नक्कली भुटानी शरणार्थी छानविन आयोग यथाशीघ्र गठन गरी अनुसन्धान प्रक्रियालाई सहयोग गरेर मुलुकमा अपराध नियन्त्रण गर्न, सुशासन र मानव अधिकारको
प्रत्याभुति गराउन सरकारसँग आग्रह पनि गरिएको छ ।

उक्त ज्ञापनपत्र मानवअधिकार एलायन्स म्याग्दी शाखाका अध्यक्ष कमला बानियाँ थापा र सचिव दिलमाया बिटालुसहितको एक टोलीले प्रजिअ पौडेललाई हस्तान्तरण गरेको थियो । ज्ञापनपत्र बुझ्दै प्रजिअ पौडेलले ज्ञापनपत्रलाई तत्कालै सम्बन्धित निकायमा पठाइने जानकारी दिनुभएको थियो ।

Leave a Reply