लागूऔषध चरेस मुद्दामा दोषी ठहरिएका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् । म्याग्दी जिल्ला अदालतबाट लागूऔषध चरेससम्बन्धी मुद्दामा तीन महिना २९ दिनको कैद सजाय सुनाइएका उनीहरुलाई पक्राउ गरी कारागार चलान गरिएको हो ।

पक्राउ पर्नेमा पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कबाङका ४६ वर्षीय रत्नबहादुर छन्त्याल र उहाँकी श्रीमती ३७ वर्षीया कुमारी छन्त्याल रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किरण लामाले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ परेका छन्त्यालद्वय श्रीमान् श्रीमती हुन् । छन्त्यालद्वयलाई यही आइतबार कास्कीको पोखरा महानगरपालिका–१८, खपौडीबाट सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पक्राउपश्चात् उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराएर दण्ड सजायको असुलउपरको लागि अदालतको आदेशले कैद भुक्तान गर्न कारागार चलान गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँबरले जानकारी दिनुभयो ।

यसैबीच म्याग्दी प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी गलेश्वरबाट ग्रामीण गस्तीमा खटिएर गएको प्रहरीको टोलीले गत शुक्रवार दिउँसो बेनी नगरपालिका–९, घतानका २४ वर्षीय सुनिल परियारलाई पक्राउ गरेको प्रनाउ कुँबरले बताउनुभयो ।

परियारलाई घरभित्र कोठामा लुकाइछिपाई राखेको अवस्थामा दुई केजी २० ग्राम सुकेको लागूऔषध (गाँजा)सहित पक्राउ गरिएको छ । पक्राउपछि उहाँलाई लागूऔषध गाँजा मुद्दाको शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत म्याग्दीबाट पहिलोपटक सात दिनको म्याद थप गरेर अहिले अनुसन्धान भैरहेको प्रनाउ कँुबरले जानकारी दिनुभयो ।

Leave a Reply