म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा निर्माणाधीन दुई जलविद्युत आयोजनाको ११० मेगावाट विद्युत अबको ६ महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा थपिने भएको छ । ८० प्रतिशत निर्माण सकिएको दुवै आयोजनाको विद्युत आगामी मंसिरभित्र प्रणालीमा जोडिन लागेको हो ।

नीलगिरि खोलामा निर्माणाधीन ३८ मेगावाटको नीलगिरि–१ र ७१ मेगावाटको नीलगिरि–२ जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । नीलगिरि खोला हाइड्रो पावर लिमिटेडले २०७६ सालदेखि निर्माण गरिरहेको दुवै आयोजनाको काम सकिन लागेको छ ।

दुवै आयोजनाको निर्माण आगामी ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाका ईञ्जिनियर केशव वाग्लेले बताए । ‘हिमालको फेदीमा आयोजना निर्माण गर्नु हाम्रा सामु ठूलो चुनौती थियो’, उनले भने, ‘हामीले सबै चुनौती र समस्यासँग जुधेर आयोजना निर्माण अन्तिम चरणमा पुर्याउन सफल भएका छौँ ।’

अहिले आयोजनाको सुरुङ, विद्युतगृह, बाँध र प्रसारण लाइन सबै क्षेत्रको  काम तिव्र गतिमा भइरहेको छ । नीलगिरि–१ को २ हजार मिटर र नीलगिरि–२ को ४२०० मिटर सुरुङ खन्ने काम सकिएर ढलान भइरहेको छ । पेनस्टक टनेल खन्ने काम सकिएर नीलगिरि–१ को ८०० मिटर र नीलगिरि–२ को १५०० पेनस्टक पाइप जडानको काम थालिएको छ ।

नीलगिरि-१ को विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । नीलगिरि–१ को हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण गरिएको छ ।

निजी क्षेत्रको लगानीबाट निर्माण गरिएको यो म्याग्दी जिल्लाकै ठूलो आयोजना हो । पहाडको खोचमा आयोजनाका संरचना निर्माण भएका छन् । आयोजना सम्पन्न गर्न १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

नीलगिरि खोलाबाट उत्पादन भएको बिजुली २२० केभी प्रसारण लाइन मार्फत  ८.५ किलोमिटर लामो दुरीमा रहेको दाना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइनको काम पनि भइरहेको छ । लाइनको २४ वटामध्य २३ वटा टावर निर्माण गरी तार तान्ने काम सकिएको छ ।

Leave a Reply