बेनी नगरपालिका–१,सारेमारेमा ट्याक्टरका चालक र सहचालकले नगरप्रहरी प्रमुख शंकर पौडेलमाथि आक्रमण गरेका छन् ।

नगरपालिकाबाट नियमित अनुगमनमा रहेका नगर प्रहरी प्रमुख पौडेलमाथि दोहनमा प्रयोग भइरहेको ट्याक्टरका चालक र सहचालकले ढुंगाले प्रहार गरी घाईते बनाएका छन् ।

ढुंगा लैजादै गरेको अवस्थामा प २०३०००१ त ४९६६ नंबरको ट्याक्टरमा चालक र सहचालले नगरप्रमुख पौडेललाई ढुंगाले प्रहार गर्दा हातको ३ वटा औला भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ ।‘मैले प्रमाण जुटाइरहेको थिए,‘एक्कासी मलाई आक्रमण भयो, भाग्दै गर्दा समेत जथाभावी ढुंगाले हानियो’ पौडेलले बेनीअनलाइनलाई भने ।

नगरपालिकाको प्रतिनिधिका बारेमा जानकारी हुदाँहुदै आक्रमण भएको पौडेलको भनाई छ । बेनी नगरपालिकाले टेण्डरमार्फत बगर ठेक्कामा लगाएपनि मापदण्ड विपरित उत्खनन्लाई नियन्त्रण गर्न नगर प्रहरी सहितको टोलीलाई खटाएको छ ।

यता नगर प्रमुख सुरत केसीले घटनामा संलग्नको पहिचान भएकाले आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइएको बताए । सारेमारे, डम्बरा चुत्रेनी,बगुवाखोला, गलेश्वर लगायतका क्षेत्रमा नदी दोहनका घटनाको सर्वत्र गुनासोपछि नगरपालिकाले अनुगमन तथा जफटका लागि समेत यूनिट तयार गरी परिचालन गरेको छ । यसैबीच घटनामा संलग्नले उपचारमा लागेको खर्च सहित घटनाप्रति क्षमा सहित दुख ब्यक्त गरेपछि सहमति भएको छ ।

Leave a Reply