पूर्व गोर्खा सैनिक चामबहादुर पुनको जीवनकथा समेटेटिएको पुस्तक लाहुरेको सङ्घर्ष, करबाकेलीको सेवामा दुई दशक नामक पुस्तक सार्बजनिक भएको छ।

पर्यटनकर्मी युवाको संस्था कन्सेप्ट नेपालले आइतबार  काठमाडौंमा कन्सेप्ट नेपालले आयोजना गरेको कार्यक्रममा पत्रकार शेखर खरेल, पत्रकार एवम् कवि भोजराज न्यौपाने, सञ्चारकर्मी रीता लिम्बु र लेखक पुनले संयुक्त रुपमा लाहुरेको सङ्घर्ष पुस्तक लोकापर्ण गरेका हुन्।

पुस्तक लोकापर्ण लगत्तै आयोजित अन्तरक्रियामा लाहुरे चामबहादुरको कर्म उदाहरणीय र प्रेरणादायी रहेको टिप्पणी गरियो। एउटा लाहुरेले आफ्नो समाजका लागि कतिसम्म योगदान गर्न सक्छ भन्ने कुराको नमुना पुन भएको उनीहरुले बताए।

अन्तरक्रियाको सहजीकरण कवि न्यौपानेले गरेका थिए। पत्रकार खरेलले सरल भाषामा सुरुचिपूर्ण ढंगमा लेखिएको पुस्तक एकै बसाईमा पढिसकेको अनुभव सुनाए। त्यस्तै सञ्चारकर्मी लिम्बुले आफू लाहुरे परिवारको सदस्य भएको बताउँदै समाजसेवामा जीवन अर्पण गर्ने चामबहादुर जस्ता थोरै लाहुेर भएको सुनाइन्।

कार्यक्रममा पर्यटन पत्रकार अमृत भादगाउँलेले करबाकेली क्षेत्र राम्रो पर्यटनधाम बनिसकेको अनुभव सुनाए। उनले भने, करबाकेलीलाई पर्यटकीय केन्द्र बनाउने नायक चामबहादुर नै हुन्।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ काफलडाँडाका चामबहादुरले जीवनका १५ वर्ष बेलायती सेनामा विताए ।  त्यस लगत्तै १० वर्ष ब्रुनाईका सुल्तानको सेवा गरे। त्यसपछिका दिनमा भने मातृभूमिको सेवामा जीवन समर्पित ग गर्दै आएका छन्।

उनले पुन समुदायका कुल देवता करबाकेली बाबाको अनुसन्धान, काफलडाँडामा करबाकेली थान, पाहुनाघर, पुन सामुदायिक सङ्ग्रहालय निर्माणको परिकल्पना र अगुवाई गरे। साथै पुनहिलदेखि बेनीबजार झर्ने पदमार्गलाई करबाकेली इको ट्रेकका रुपमा ब्रान्डिङ गरे।

यति मात्र होइन, पुन जीवनशैलीमा आधारित दुईओटा चलचित्र निर्माण गरे। ती दुवै चलचित्रमा खलपात्रको अभिनय गरेका चामबहादुर वास्तविक जीवनमा नायक बनेका छन्।

पुन समुदायको पहिचानका लागि अगुवाई गर्दागर्दै उनले करबाकेली क्षेत्रको सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासमा अतुलनिय योगदान पुर्याएका छन। करबाकेली क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र पनि बनेको छ।

परिवारलाई बेलायतमा छाडेर वर्षका अधिकांश समय मातृभूमिको सेवामा खटिने चामबहादुर  जस्ता उदाहरणीय एवम् प्रेरणादायी व्यक्ति हरेक गाउँमा भइदिए नेपालले छिट्टै काँचुली फेर्न सक्छ।
रंगीन कलेवरमा छापिएको १७० पेजको यो पुस्तकको मूल्य ५०० रुपैयाँ राखिएको छ। पुस्तकको विक्रिबाट आएको सतप्रशित रकम समाजिक काममा खर्च गरिने पुनले बताएका छन्।

Leave a Reply