म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी बजार क्षेत्रमा सञ्चालित होटल तथा किराना पसलको अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजनामा  अनुगमन गरिएको हो ।

तातोपानीको तल्लो बजार क्षेत्रमा सञ्चालनमा रहेका किराना पसल र होटल तथा रेष्टुरण्ट गरी कुल १८ वटा होटल एवं पसलको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले जनाएको छ । अनुगमनको क्रममा १५ हजार रुपैयाँ बराबरको म्याद गुज्रिएका सामानहरु जफत गरी नष्ट गरिएको कार्यालयका खाद्य निरीक्षक प्रेम अर्यालले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा केही होटल तथा पसल दर्ता नगरीकन सञ्चालन भएको, म्याद गुज्रिएका पेयपदार्थलगायत खाद्य सामग्री बिक्री वितरण गरेको, मूल्यसुची र साइनबोर्ड नटाँसेको, फेन्सी, किराना तथा होटल एकै ठाउँमा सञ्चालन गरेको र कानुनी प्रक्रिया पुरा नगरेको जस्ता कमी कमजोरीहरु भेटिएका छन् । यसैगरी च्याउ, भुजालगायत दैनिक उपभोग्य सामग्री लेबल नलगाइकन प्याकिङ गरेर खुलेआम रुपमा ग्राहकलाई बिक्री गरेको पनि भेटिएको जनाइएको छ ।

केही पसल सञ्चालकहरु अनुगमन टोली आएको थाहा पाएपछि पसलमा समेत नबसेको र ढोका लगाएको पनि भेटिएको थियो । अनुगमनमा भेटिएका कमी कमजोरीलाई सुधार गरी तथा कानुनी प्रक्रिया पुरा गरेर मात्रै आगामी दिनमा पसल र होटल सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमनको क्रममा दिइएको निर्देशनको पालना नगरेमा कानुनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइनेछ ।

खाद्य निरीक्षक अर्यालको नेतृत्वमा जिल्ला प्रशासन तथा प्रहरी कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, बेनी नगरपालिकाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र पत्रकार लगायतको सहभागिता रहेको थियो । यसअघि म्याग्दी सदरमुकाम बेनीबजारको कालीपुल बसपार्क क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुमा पनि अनुगमन गरिएको थियो ।

Leave a Reply