‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा बेस्ट भिडियो अफ द इयरको उपाधि टिम डुलुवाको ‘दि नर्थेन वाल’ले जितेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलो पटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि.) आसपासका दृष्यहरु समेटिएको भिडियो उत्कृष्ट भएको हो । टिम डुलुवाका अगुवामध्येका बागलुङका सन्दिप शर्मा सहितको टोलीको भिडियोले अन्नपूर्ण हिमाल तथा आसपासका निकै लोभलाग्दो भिडियो तयार गरेको थियो ।

टिम डुलुवाले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त गरेको छ ।त्यस्तै प्रतियोगिताको दोस्रो महत्त्वपूर्ण ‘जजेज च्वाइस अवार्ड’ विजेता आर्यन कुँवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पा¥यो ।

प्रतियोगिताको ‘मोस्ट इनर्जेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगदसहित अवार्ड जित्यो । एकभन्दा बढी भिडियो पठाउने प्रतियोगीहरूलाई यसमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा कुल १० वटा विधामा अवार्ड प्रदान गरिएको थियो । सन् २०२० र २०२३ मा प्राप्त २ सय ५८ भिडियो मध्येबाट विभिन्न १० विधामा ७० वटा भिडियो मनोनयन गरिएको थियो । प्रतियोगिता फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा भएको हो ।

राष्ट्रिय सभा गृहमा शनिबार आयोजित कार्यक्रममा फाउन्डेसनका संस्थापक तथा अध्यक्ष तुलसी कुमार गुरुङले ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको पहिलो संस्करणले ओझेलमा रहेका स्थानहरू उजागर गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यस वर्षदेखि विजेता १० भिडियोलाई विभिन्न देशहरूमा प्रदर्शन गरिने छ ।

वि विल राइज फाउन्डेसनले यो कार्यक्रम आयोजना गरेकोमा प्रमुख अतिथि समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धन्यवाद व्यक्त गरे । यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म डेस्टिनेसनका लागि नेपालका सुन्दर ठाउँहरूको उजागर गरेको अभिनेता तथा चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसीले बताए ।

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही फाउन्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ को आयोजना गर्दै आएको छ । फाउन्डेसनले गत वर्ष फागुन १२ देखि यस वर्षको वैशाख २१ गतेसम्म वृत्तचित्र पठाउन आह्वान गरेको थियो।

Leave a Reply