अभिभावकको वेवास्ता र अज्ञानताका कारण पछिल्ला केही वर्षयता म्याग्दीका बालबालिकाहरु डिजिटल एडिक्सन र जंक फुडको शिकार बन्दै जान थालेका छन् ।
सानै उमेरदेखि मोवाइल लगाएतका इलेक्ट्रोनिक सामाग्रीहरुको जथाभावि प्रयोग र खानेकुरामा जंक फुड को व्यापक प्रयोगका कारण बालबालिकाहरुमा अल्छीपना र मनोरोगको समेत असर देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।
ओछ्यानमा घोप्टो परेर मोवाइलमा टिकटक र युट्युव हेरेर व्यस्त रहने आफ्नी १५ वर्षीया छोरीको आनिबानी र व्यबहारमा आएको परिवर्तनले म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ की टिकाकुमारी पुन चिन्तित हुनुहुन्छ ।
एकछिन मोवाइल नपाए छट्पटिने,रिसाउने,झर्किने,पढाइमा ध्यानै नदिने,गृहकार्य गर्दा पटकपटक मोवाइल हेर्ने र गालीगरे एकोहोरिने अनि राती सुतेको बेला झस्किने समस्या देखिए पछि पोखरास्थित पद्म नरसिंह अस्पतालमा लगेर बालरोग विशेषज्ञलाई देखाउनुभयो चिकित्सकले छोरीलाई ‘डिप्रेसन’ को लक्षण देखिएको र मोवाइल लगाएतका सूचना प्रविधिका सामाग्रीहरुको प्रयोग कम गर्न नसके यो निकै खतरनाक हुने बताएपछि पुन छाँगाबाट खसेजस्तै हुनुभयो ।
चिकित्सकहरूका अनुसार, तनाव बढी भयो भने मानसिक समस्या हुन्छ । बालबालिकामा यस्तो समस्या बढ्नुका पछाडि पारिवारिक कलह, अभिभावकको बेवास्ता र आवश्यकताभन्दा बढी नियन्त्रण, ‘बुलिङ’, विद्यालयले दिने सजाय जस्ता कारण प्रमुख हुने गर्छन् ।
त्यसैगरी जंक फुड स्वास्थ्यका दृष्टिले मात्र होइन बालबालिकाको शारीरिक र बौद्धिक विकासका दृष्टिले समेत हानिकारक प्रमाणित भएको म्याग्दीका चिकित्सक खगराज निउरेले बताउनुभयो ।
घरको मौलिक खाना नखाएर बजारमा पाइने तयारी खाद्यान्नका कारण विरामी हुनेहरु बढ्दो क्रममा रहेका उहाँको भनाइ छ । सामान्यतया स्वाद मात्र मीठो हुने मो मो, चाउमीन, पानीपुरी चटपटे, कुरकुरे, चिप्स लगाएतका बजारीया खानेकुराका कारण विरामी हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बेनी अस्पताल म्याग्दीले जनाएको छ ।
जंक फुडको प्रयोग सबै उमेर समुहले गरेपनि बालबालीकाहरु अझ बढी यसको शिकार बन्ने गरेका डा.रोशन सापकोटाले बताउनुभयो । जंक फुड खाएर विरामी भएका बच्चाहरूको कुनै तथ्यांक नभए पनि जंक फुड र फास्ट फुडको प्रयोगले बालबालिकाहरू कुपोषणसँगै अन्य थुप्रै रोगको सिकार भइरहेको विज्ञहरु बताउँछन् । जंक फुड या फास्ट फुडमा क्याल्सियम, जिङ्क, भिटामिन ए, थायामिन, रिबोफ्लेभिन, भिटामिन बी र फोलेटको लगाएतका पोषक तत्वहरुको निकै कमी भएको काठमाण्डौंका बालरोग विशेषज्ञ डा. विमल लाल कर्ण बताउनुहुन्छ ।
व्यस्तताको कारण आफ्नो भान्सामा पकाएर खाने चलन घट्दै गर्दा फास्ट फुड या जंक फुड खाने चलन पछिल्लो समय बढ्दै गएको पाइएको चिकित्सकहरुको भनाइ छ । त्यस्तै, अभिभावकहरू कार्यालय लाने तथा व्यस्त हुने हुनाले जंक फुड खाने बालबालिकाको संख्या बढिरहेको देखिन्छ ।
बजारमा पाइने रेडिमेड खाना बनाउन सजिलो, कम समय लाग्ने र स्वादिलो पनि हुने हुनाले अभिभावक आफ्ना बच्चालाई खाजाको रुपमा जंक फुडकै प्रयोग गर्ने गरेको पाईन्छ । किशोर किशोरी तथा बालबालिका जंक फुडको प्रयोगका कारण घरको खाना नै नखाने अवस्थामा पुगेका छन् ।
दाल, भात, तरकारी, कोदो, फापरलगायतका खाद्य तत्व खाएमा शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुन्छ भन्ने धेरैलाई थाहा भए पनि बेवास्ता गरेको पाइएको के वि एकेडेमी दरवाङका प्रिन्सिपल विमल शर्माले बताउनुभयो ।
त्यस्तै, सानो उमेरदेखि नै घरमै बनाएको खानेकुरा खाने बानी पारे बालबालिकाहरु जंक फुडखाने बानी हुँदैन । सजिलोका लागि रोजिने जंक फुडका कारण सामान्यदेखि घातक रोग लाग्ने जोखिम हुने यस्तो प्रकारका खानाबाट टाढा बस्नु उपयुक्त हुने उहाँको राय रहेको छ ।
म्याग्दीमा हिजोआज बालबालिकाहरुले मोवाइलको प्रयोग गर्नेक्रम तीब्ररुपमा बढेको पाइएको छ । अभिभावकले बच्चालाई पर्याप्त समय दिनेभन्दा अलमल्याउने सजिलो उपायका रूपमा मोबाइल, ट्याबलगायतका वस्तु दिने गरेका छन्।
जसले गर्दा समयक्रममा ‘डिजिटल एडिक्सन’ का कारण उनीहरूमा विभिन्न शारीरिक र मानसिक समस्या बढिरहेको सामाजिक विषयका शिक्षक हिराबहादुर सिउथानीले बताउनुभयो । “डिजिटल वस्तुतिर एकोहोरिँदा बालबालिकाहरू असामाजिक बनिरहेकोमा पनि उनीहरूको चिन्ता छ” सिउथानीले भन्नुभयो ।
बालबालिकाहरू इन्टरनेटमार्फत विभिन्न गेमको अम्मली मात्र बन्दैनन्, पोर्नोग्राफीतिर जाने जोखिम पनि हुने भएकाले अभिभावक विशेष सजग हुनुपर्ने शिक्षकहरुको भनाइ छ । “बच्चाहरूले मोबाइल र ट्याब कति समय खेल्छन् भन्ने कुनै लेखाजोखा हुँदैन, जसले विस्तारै उनीहरूमा डिजिटल एडिक्सन हुन्छ र एक्लोपन बढाउँदै मानसिक रोगी बन्न पुग्छन्” शिक्षक निराजन पुनले भन्नुभयो ।
दरवाङ बजारमा बस्ने खिमबहादुर सुनारका १२ वर्षीय छोरा मोबाइलमा विभिन्न थरीका गेम खेल्थे। मोबाइलको लतमा पर्दै गएपछि पढ्न, खान र सुत्नसमेत छाडेर गेम खेल्ने, विद्यालय जान नमान्ने, वाइफाइ अफ गरिदिँदा झगडा गर्ने गर्न थालेपछि छोरालाई लिएर सुनार बेनी अस्पतालमा जानुभयो ।
“मोबाइल खेल्दा के नै बिग्रेला भनेर दियौँ र वास्ता पनि गरेनौँ, अहिले छुटाउन एकदम गाह्रो भइरहेको छ” सुनारले भन्नुभयो । उपचारको क्रममा रहेका छोरा पछिल्लो समय विद्यालय जान अलि सहज मान्न थालेको सुनारले बताउनुभयो ।
बालबालिकालाई सूचना–प्रविधिको जञ्जालमा हराउन नदिन उनीहरूको साथी बन्ने कोशिश गर्दै गुणस्तरीय समय दिनुपर्ने मनोचिकित्सकहरूको भनाइ छ । शारीरिक र मानसिक सबलीकरणमा सघाउने खेलकुद र सिर्जनशील कार्यमा बच्चाहरूसँग आफू पनि सहभागी हुने तथा परिवारभित्र र छरछिमेकका अन्य बालबालिकासँग घुलमिल गर्न प्रेरित गरेर सामाजिक सम्बन्ध विकसित गर्नुपर्ने मनोचिकित्सकहरू बताउँछन् ।
बालबालिकामा डिप्रेसन, एन्जाइटी, अप्सेसिभ इम्पलसिभ डिसअर्डर (ओसीडी) लगायत मानसिक समस्या देखिने गरेको छ। डिप्रेसन भएका बालबालिका सामान्य कुरामै रिसाउने, झर्को मान्ने, नियमित काममा अरुचि देखाउने जस्ता लक्षण देखिन्छन् भने एन्जाइटी भएमा विना कारण आत्तिने, डराउने, स्कूल जान नमान्ने हुन्छन् । यस्तै, तीन/चार वर्षको उमेरदेखि देखिन सक्ने ओसीडी भएका बालबालिकाले एउटै कुरा बारम्बार सोधिरहने, कुनै काम गर्न शुरू गरेपछि एकोहोरो गरिरहने चिकित्सकहरूले बताएका छन् ।
मानसिक तनावकै कारण बालबालिकाले सानै कुरामा प्रतिक्रिया जनाएर अनपेक्षित घटना हुने क्रम पछिल्लो समय देखिन थालेको छ । कतिपयले आत्महत्या गर्नेसम्मको कदम चाल्ने गरेकाले बालबालिकाको मानसिक स्वास्थ्यमा घरपरिवार, विद्यालय र राज्य संवेदनशील बन्नुपर्ने देखिएको चिकित्सकहरुको राय छ ।