म्याग्दीको रघुगंगा गाउँपालिका-४,दग्नाममा भुमेथानमा लिंगो जुधाई प्रतियोगितामा यसपटक गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिंगोहरु जुधाउँदा बराबरी भएको हो । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन एकता क्लव दग्नामले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा विगतमा कान्छी र गैरी गाउँ बिच कडा प्रतिस्पर्धाबाट विजय हुने गरेकोमा यसपटक भने दुबैले जित्न सकेनन्।

लिंगो जुधाईमा दुबै गाउँको लिंगो अग्लो र स्थीर बसेपछि दुबैलाई बराबरी भएको घोषित गरिएको स्थानीय अगुवा एवम् जनता मावि दग्नामका बिब्यस अध्यक्ष धनिलाल गर्बुजाले बताए । ‘अग्लो लिंगोलाई विजयीको रुपमा मानिदै आएपनि स्थायी रुपमा उभिएमात्र विजयी हुन्छ’ गर्बुजाले भने ।

उनले अग्लो, चिटिक्क र लामो समयसम्म स्थीर बस्ने गरी दुबै गाउँले तयारी गरेको बताए । हरेक बर्षको जेठ महिनामा मनाइने भूमे पुजाको अवसरमा आयोजना गरिएको लिंङ्गो जुधाउने प्रतियोगितामा बिगतमा जस्तै करिब चार सय बर्ष पुरानो इतिहाँस बोकेको मानिने लिङ्गो जुधाउने कार्यक्रमलाई यो बर्ष पनि दग्नामबासीले निरन्तरता दिएका थिए ।

दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजासहित लिङ्गोलाई चिटिक्क सिङ्गारिएको अग्लो बाँसको लिङ्गो बोकेर मुन्का डाँडामा पुगेपछि प्रतिस्पर्धा गराउने गरिन्छ । प्राचीनकालदेखि भुमेथानको पुजाको अवसरमा लिङ्गो जुधाउने प्रतियोगितालाई नयाँ पुस्ताले समेत पुर्खाको कला र संस्कृतिको रुपमा निरन्तरता दिँदै प्रतियोगिताको जर्गेना गर्ने अभियानमा यूवाको सक्रियता बढेको छ ।

स्थानीयले पुख्र्यौली, गीत, पञ्चेबाजाको रमाइलो उत्सवसहित जातीय भेषभूषामा सजिएर भूमे देवताको पूजा गरेपछि दिउँसो देवतालाई खुशी बनाउनका लागि लिङ्गो जुधाउने गरिन्छ ।

भुमे देवतालाई जती खुसी बनाउन सकिन्छ, त्यती नै प्रकृतिले साथ दिने जनविश्वास अनुसार भुमे पुजा पर्वको अवसरमा स्थानिय दुई गाउँविचमा लिङ्गो जुधाउने प्रतिस्पर्धा हुदै आएको छ। भुमे पुजाको अवसरमा स्थानियले एकै दिन सामे भुमे, सिद्ध भुमे, देवि, देउराली,भारा, खोला र मण्डलीको पुजाआजा गरेका छन्।

वर्षभरीको खेतीबाली, राम्रो होस्, प्राकृतिक प्रकोपसहित विनाश नहोस्, स्थानीयको मनोकामना पुरालगायत भूमे देवतालाई विधि पुरा गरी पुजाआजा गर्ने गरेको जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनले बताए । लिङ्गो जुधाई प्रतियोगिताको अवसरमा रघुगंगा गाउँपालिका अन्तरगत छिमेकी वडाबाट समेत अवलोकन गर्न आउने गरेका छन् ।

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ ले लिङ्गो जुधाई प्रतियोगिताको अवलोकन गरेका थिए । उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकासको क्षेत्रलाई विशेष प्राथमिकता दिएर संघमा पहलकदमी चाल्ने सांसद गर्बुजा प्रतिबद्धता जनाए ।

Leave a Reply