महिला अधिकारको लागि राष्ट्रिय अभियान जिल्ला कार्यसमिति म्याग्दी र सचिवालय संस्था मिलन म्याग्दीको आयोजनामा पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस–२०८० मनाइएको छ । 
‘महिला हक अधिकार ः सबैको सरोकार’ भन्ने मूल नारासहित म्याग्दी बहुमुखी क्याम्पसको समन्वयमा हिजो (मङ्गलवार) क्याम्पसमा मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । कार्यक्रमको बेनी नगरपालिकाको उपप्रमुख ज्योति लामिछानेले उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख लामिछानेले महिलाहरुको पक्षमा स्थापित हक अधिकारको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले संविधानमै राज्यका हरेक निकाय र ठाउँमा ३३ प्रतिशत अनिवार्य सहभागिताको सुनिश्चितता गरेको भए पनि कार्यान्वयन हुन नसकिरहेको बताउँदै संविधानमा उल्लेखित हक अधिकारको पूर्ण पालनाका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न जरुरी रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत डाक्टर रामु सापकोटाले मानसिक स्वास्थ्यसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रम म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोरखबहादुर जिसीको अध्यक्षता, मिलन म्याग्दीका कोषाध्यक्ष ज्ञानुकुमारी बानियाँको स्वागत र महिला अधिकार मञ्चका सहसचिव चन्द्रकला बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा मिलन म्याग्दीका सचिव तिलकुमारी राना, कार्यसमिति सदस्य विष्णुकुमारी रोका, म्याग्दी बहुमुखी क्याम्पसका विभिन्न विभागीय प्रमुख एवं प्राध्यापक तथा विद्यार्थीहरु, महिला अधिकारकर्मी र पत्रकार लगायतले सहभागिता जनाएका थिए ।

Leave a Reply