म्याग्दीको बेनी नगरपालिका-४,सुर्केमेलाकी १८ वर्षीया सिर्जना जिसी ५ दिनदेखि बेपत्ता भएकी छन् ।
गएको जेठ १२ गते रातिदेखि घरबाट बेपत्ता भएकी र्सिजनाको आफन्त र परिवारले खोजतलास गरे पनि हालसम्म पत्ता लागेको छैन् ।

बेपत्ता सिर्जनाका आफन्त एवम् बेनपा–३ भकिम्लीका वडा सदस्य रत्न जिसीका अनुसार बेपत्ता सिर्जना बिहान उठ्दा कोठामा नभेटिएपछि परिवारले खोजीकार्य गरेको थियो ।

‘सम्पर्कविहिन भएको भोलीपल्ट जेठ १३ गते विहान साढे ५ बजेदेखि उनले प्रयोग गरेको मोबाइल ‘स्वीच अफ’ छ,‘ बुबालाई घरमा आउँदैछु भनेर एक्कासी सम्पर्कविहिन भएकाले कतै समस्यामा परेको हुनसक्छ’ जिसीले भने ।

उनका अनुसार सम्पूर्ण आफन्त र साथीहरुलाई सम्पर्क गर्दासमेत फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय बेनीमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयले हुलियाको आधारमा खोजीकार्य जारी राख्दै अनुसन्धानका घेरालाई फराकिलो बनाउँदै लगेको जनाएको छ ।

‘बेपत्ताको खोजीका लागि सबै स्थानमा प्रहरी खटाइएको छ,‘अनुसन्धानलाई सम्भावित आधारहरु खोज्दै अगाडी बढाएका छौ,‘थप तथ्य फेला परेपछि सार्वजनिक गछौं’ प्रहरी स्रोतले भन्यो ।

बेपत्ता सिर्जनाको खोजीकार्यका लागि प्रहरीले देशभर सर्कूलर र आन्तरिक रुपमा समेत अनुसन्धान गरिरहेको छ । यता बेपत्ता सिर्जनाका परिवार र आफन्तले खोजीकार्यमा सहयोग गर्न सार्वजनिक रुपमै अपिल गरेका छन् ।

 

 

Leave a Reply