जवरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दामा परेका बागलुङका भल्गर र मोटरसाइकल राईडर प्रभात बसेललाई दोस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई दिएको अनुमति शुक्रबार सकिदैछ । बागलुङ नगरपालिका–९,तित्याङका २३ वर्षीय प्रभात बसेललाई यही जेठ ७ गते पोखराबाट पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा राखिएको छ ।

भल्गर बसेललाई अनुसन्धान गर्न दोस्रो पटक ७ दिनको म्याद थपिएको थियो । उनलाई यसअघि अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको थियो । पीडित र आरोपीको बयानकै क्रममा रहेकाले शुक्रबार समेत म्याद थपका लागि अदालतबाट अनुमति मागिने प्रहरीले जनाएको छ ।

अनुसन्धानमा खटिएका अधिकृतको आवश्यकता अनुसार म्याद थप गरिने छ । बसेलका आफन्त, सामाजिक सञ्जालका समर्थक र दलित अगुवाहरुले बिना सर्त रिहाईको माग गर्दै देशैभर प्रर्दशन गरिरहेका छन् ।

स्वदेश तथा विदेशबाट समेत चासो देखाइएको घटनाका आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको २५ दिनभित्र जिल्ला अदालतमा पेश गर्नुपर्ने छ । भल्गर बसेलको पक्षमा म्याग्दीको सदरमुकाम बेनी तथा विभिन्न स्थानमा भइरहेको मोटरसाइकल ¥याली सहित बिरोध प्रर्दशन जारी रहेको संघर्ष समितिले जनाएको छ ।

दलित अगुवाहरुले अन्तरजातीय बिवाहका कारण केटी पक्षका परिवारले प्रभातलाई दुख दिन फसाएको बताउँदै जातीय विभेदको दावी गरेका छन ।निष्पक्ष अनुसन्धान, छानविन र न्याय दिलाउने वातावरण बनाउन माग गरेको दलित अगुवा टेकबहादुर विकले बताए । ‘दुबैको सहमतिमा अलग बस्न पाइन्छ, तर मुद्धाको नाममा फसाउने नियत राखेको देखिएकाले बाध्य भएर अन्दोलनमा होमिएका छौ’ विकले भने ।

यता पीडित यूवतीका परिवारले सामाजिक सञ्जाल र विभिन्न आन्दोलनमार्फत थप पिडा दिएको बताएका छन् । ‘छोरीले आफै गएर दर्ता गरेको मुद्धा हो, उसलाई पीडकबाटै सामाजिक रुपमा बेइजत गरेका धेरै प्रमाणहरु हामीसँग छन’ पीडितका बुबाले भने ।

उनले छोरीलाई सामाजिक सञ्जाल, फोन तथा अन्य विभिन्न माध्यमबाट धम्काउने, निरन्तर मानसिक तनाव दिएपछि प्रहरीमा निवेदन दिएको बताए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार बसेललाई दर्ता गरेको अपहरण गरि शरिर बन्धक बनाएको र जवरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।

‘युवती आफै कार्यालयमा आएर किटानी जाहेरी गर्नुभएको हो,‘अनुसन्धानकै क्रममा रहेको छ, धेरै बोल्न मिल्दैन’प्रनाउ कुँवरले भने । उनले दर्ता भएको मुद्धाको अन्तिम छिनोफानो जिल्ला अदालतमा हुने बताए । ’दर्ता भएको मुद्धा फिर्ता गर्न मिल्दैन,‘यो अव सम्मानित अदालतबाटै टुंगो लाग्छ’ प्रनाउ कुँवरले भने ।

पीडित यूवतीलाई आरोपितले ०७९ फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरीका दिएका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान भइरहेको छ । सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा युवतीको नाम र तस्विर सार्वजनिक भएको विषयमा गोपनीयताको ख्याल गर्न प्रनाउ कुँवरले अनुरोध गरेका छन् ।

प्रभातका मामा बिलबहादुर नेपालीले भने दलित समुदायका केटाले क्षेत्री केटीसँग गरेको बिवाहलाई भाड्न केटीलाई उचालेर मुद्दा लगाइएको बताए । प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए । मोटरसाइकल राइडर र युटु्युवमा भल्ग सञ्चालन गरेका प्रभातले ती युवतीसँग गत फागुनमा भागी बिवाह गरेको उनका आफन्तहरुले बताएका छन् ।

प्रभातको आमा र दुई जना भाईको २०७२ को भूकम्पमा परेर काठमाडौमा मृत्यु भएको थियो । आमाको मृत्यु र बुवाले दोस्रो बिवाह गरेपछि बागलुङ आएका प्रभात कामको खोजीमा बेनी आएका थिए । यता महिला अधिकारकर्मीले जवरजस्तीको मुद्धामा प्रहरीको अनुसन्धानलाई प्रभावित बनाउन नहुने भन्दै निष्पक्ष छानविनको वातावरण बनाउनुपर्ने बताएका छन् ।

यता प्रभातका साथीहरुल अलग भएर बस्ने वातावरण बनाउँदै दुबैलाई आफ्नो भविस्य बनाउन दिने वातावरण बनाउन सार्वजनिक अपिल गरेका छन्। दलित अगुवाहरुले जातियताकै अधारमा अलग बनाउन खोजेको बताइरहेका छन् भने पीडित पक्षले जातियभन्दा मानसिक पिडाका कारण यो घटना भएको दावी गरेका छन् ।

Leave a Reply