राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमको दोस्रो चरणमा सञ्चालन हुने केयर कार्यक्रमको समिक्षा कार्यक्रम बागलुङमा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले केयर समिक्षा कार्यक्रम आयोजना गरेको हो । बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रममा सहभागी संस्थाहरुको मात्र सहभागितामा सञ्चालन हुने कार्यक्रममा बागलुङ, म्याग्दी र पर्वतका १२ वटा संस्थाको सहभागिता रहेको थियो ।
सहकारीहरुको संस्थागत अवस्था, वित्तीय व्यवस्थापन र सुशासनलाई प्रभावकारी बनाउन, कार्यविधिहरु निर्माण तथा अद्यावधिक गर्न, योजना निर्माण तथा समिक्षा, नेतृत्व व्यवस्थापनको दक्षता अभिवृद्धि गर्न, आन्तरिक नियन्त्रण प्रणाली, गैर वित्तीय पक्ष एवं वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सहकारी बैंकले स्तरीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
स्तरीकरण कार्यक्रममा चार तहमा सहकारीहरुको स्तर मापन हुने गरी सञ्चालित कार्यक्रमको पहिलो चरणमा आधारभूत तह, दोस्रोमा केयर, तेस्रोमा स्मार्ट र चौथोमा अन्तर्राष्ट्रिय तह रहेका छन् ।
केयर समिक्षा कार्यक्रममा सहभागी संस्थाको संस्थागत अवस्थाका बारेमा समिक्षा गरी सवल पक्षलाई निरन्तरता र सुधार  गर्न पर्ने पक्षका विषयहरुलाई संस्थागत रुपमा सुधार गर्दैै लैजाने प्रतिवद्धता सहभागीहरुले गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीहरुलाई सदस्य केन्द्रीत बनाउन, संस्थालाई संस्थागत रुपमा सञ्चालन गर्न तथा वित्तीय अवस्थालाइ प्रभावकारी रुपमा अगाडि बढाउनका लागि स्तरीकरण कार्यक्रम सहयोगी हुने बताउनुभयो । उहाँले सहकारीका सञ्चालकहरुलाई जिम्मेवार र जवाफदेही बनाउनका लागि केयर कार्यक्रममा आवद्धता आवश्यक रहेको बताउनुभयो ।
सहभागी संस्थाहरुका तर्फबाट बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीले सहकारी बैंकले सञ्चालन गरेको केयर कार्यक्रममा आवद्धता पछि आफ्नो संस्थालाई संस्थागत रुपमा अगाडि बढाउन तथा कार्यविधिहरुसंगै समग्र अवस्था सुधारका लागि धेरै सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको लैंगिक समता उप–समितिका सदस्य लिला खड्काले सहकारीहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सबै सहकारीहरु स्तरीकरण कार्यक्रममा सहभागी हुनु पर्नेमा जोड दिनुभयो ।
 कार्यक्रममा बैंकको स्तरीकरण विभागका अधिकृत नवकुमार अधिकारीले सहजीकरण गर्दै सहकारी संस्थाले वित्तीय सुशासन कायम गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता, उपाध्यक्ष ललिता थापाको स्वागत र प्रवन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
केयर समिक्षा कार्यक्रमका सहभागीहरुले सहकारी संस्थाहरुमा तरलता २० प्रतिशत कायम गर्ने गरी योजना बनाउने, भाखा नाघेको ऋण असुली प्रभावकारी बनाउने, ऋण सुरक्षण कोषमा आवश्यक रकम व्यवस्थापन गर्ने, वचत रकम कम हुन नदिनका लागि नयाँ नयाँ योजनाहरु बनाउने र सदस्यहरुका बीचमा जाने, सञ्चालकहरुको स्वमूल्यांकन एवं प्रभावकारीता मूल्यांकन गर्ने, कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकन गरी लक्ष्य सहितको कार्ययोजना दिने, आगामी आर्थिक वर्षको वार्षिक योजना र बजेट तयार गरी कार्यान्वयन गर्ने, रणनीतिक योजना नभएका संस्थाहरुले रणनीतिक योजना निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा केयरमा आवद्ध संस्थाहरुका तर्फबाट आदर्श सञ्चार सहकारी संस्थाका प्रवन्धक दिपकराज सापकोटा, एकता सहकारी संस्थाका प्रवन्धक दिपक राजभण्डारी, अभियान बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक महादेव सापकोटा, प्रगति बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक मुना शर्मा, बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक ऋषि सापकोटाले संस्थाको अवस्था लगायत योजना र कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
यस्तै बेनी वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक सज्जन शाक्य, संगिनी वचत तथा ऋण सहकारी संस्था बेनीका प्रवन्धक तेज कुमारी बानिया (गंगा), विश्वामित्र बचत तथा ऋण सहकारी संस्था बेनीका प्रवन्धक सरस्वती बाँनिया, लोकदिप वचत तथा ऋण सहकारी संस्थाका सहायक प्रवन्धक सज्जन रिजाल र कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्था जलजला पर्वतका प्रवन्धक ओम प्रसाद शर्माले आ–आफ्नो संस्थाको अवस्थाका बारेमा प्रस्तुती गर्नु भएको थियो ।
 संस्थाका अध्यक्ष र प्रवन्धकहरुको सहभागितामा केयरमा आवद्ध संस्थाका गतिविधिको प्रस्तुतीपछि संस्थागत अवस्था, सवल पक्षहरु र सुधार गर्नु पर्ने पक्षका विषयमा छलफल गरिएको राष्ट्रिय सहकारी बैंक स्तरीकरण कार्यक्रमका अधिकृत नव कुमार अधिकारीले जानकारी दिनुभयो ।
राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम अन्तरगत केयर कार्यक्रममा बागलुङका ६ वटा, म्याग्दीका ५ वटा र पर्वतको एउटा गरी १२ वटा संस्था सहभागी भएका छन् । थप ६ वटा सहकारी संस्थाले स्तरीकरण कार्यक्रममा सहभागिताका लागि निर्णय गरिसकेको र आगामी साउनदेखि केयरमा सहभागी हुने राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले जानकारी दिनुभयो ।

Leave a Reply