अमृत बास्कुने, म्याग्दी

चार सन्तान मध्ये दोश्रो र एक्लो छोरा ४१ वर्ष पुगेको अशक्त, घरमा भएको छोरो कतै लड्छ र घाइते हुन्छ कि भन्ने चिन्ताले हरेक दिन सताउने सरनकुमारीको आँखामा आँशु भए पनि अनुहार भने निकै खुशी थियो छोराले नागरिकता पाउँदा ।

आफ्नो घरमा सुत्ने र यताउता हिडडुल गर्न पनि नसक्ने सरनकुमारी पुन र ओमबहादुर पुनको छोराले आफ्नै आगनमा नागरिकता हात पार्नु भएको छ । आफै आगनमा आएर छोरालाई नागरिकता दिँदा आमा भक्कानीनु भएको थियो ।

२०३९ साउन १७ गते दोश्रो सन्तानका रुपमा जन्मीएका भविन्द्र पुनको जन्मदै कम्मर मुनीको भाग कमजोर थियो । समय सँगै हुर्कँदै गएपछि शरिरको अन्य वनावटले आकार लियो तरपनि खुट्टाले उचित आकार लिन सकेन ।

बोली पनि स्पष्ट भएन घिस्रेरै हिड्न थाल्यो भविन्द्रकी आमा सरनकुमारी पुनले सुनाउनु हुन्छ । हिमाली जिल्ला म्याग्दीको उत्तरी भेक अन्नपुर्ण गाउँपालिका–८ राम्चेका शारीरीक रुपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।

“नागरिकताको प्रमाणपत्रमा औंठाछाप लगाउन पनि निकै मुस्कील परेको थियो, जब औंठा छाप लगाएर नागरिकता हातमा हाल्दीनुभयो मेरो हर्षको आँशु मैले रोक्नै सकिन आमा भन्नु हुन्छ” उहाँ भन्नुहुन्छ–“घरमै आएर नागरिकता दिने सब्बैलाई चाहे जतिको पुगोस, भगवानले सबै पुरा गरिदीउन् भन्दै आशिष दिएँ ।”

दुख पर्दा मात्रै हैन खुशी हुँदा पनि आँशु रोक्न सकिदैन, खुशी त कति हो कति सिमा नै छैन भन्दै भक्कानिभयो । नेपाली बैज्ञानिक महाविर पुनको जन्मस्थान राम्चेको नागीमा पुगेर सहायक प्रजिअ सुवेदीले आवश्कय प्रकृया पुरा गरेर घरमै नागरिकता हस्तान्तरण गर्नुभएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सूचना अधिकारी धिरेन्द्रराज पन्तले बताउनुभयो ।

हिमाञ्चल माध्यमिक विद्यालय राम्चेका प्रधानाध्यापक रमन पुनको विशेष पहल तथा वडा कार्यालयको समन्वय र सहकार्यमा सदरमुकाम पुगेर नागरिकता बनाउन नसक्ने अवस्थाका व्यक्तीलाई प्रशासनको टोलीले नागरिकता दिएको थियो ।

सेवाग्राहीको घरमै नागरिकता दिन सकिएकोमा उत्साहीत भएको अन्नपुर्ण गाउँपालिका–८ का वडा अध्यक्ष खमबहादुर गर्बुजा पुनले भन्नुभयो ।

बाबा ओमबहादुर पुन र आमा सरनकुमारी पुनको कोखबाट २०३९ साउन १७ गते दोश्रो सन्तानको रुपमा जन्मनुभएका भविन्द्रको बोली समेत स्पष्ट छैन भने उहाँ आफै सहज तबरले हिड्डुल पनि गर्न नसक्ने अवस्थाको हुनुहुन्छ ।

एक दिदी र दुई बहिनी भएका भविन्द्र हिडडुल गर्ने र अरु सँग कुराकानी गर्न समेत सक्नुहुन्न । जन्मदर्ताको आधारमा बनाएको क बर्गको अपाङ्गता परिचयपत्रको आधारमा सामाजिक सुरक्षा भत्ता पाउने गर्नु भएको भए पनि अब नागरिकता बिना भत्ता प्रदान गर्न सक्ने अवस्था नभएकोले नागरिकता बनाउनका लागि पहल थालिएको र सफल पनि भएको अन्नपुर्ण–८ का सचिव बनिका गर्बुजा पुनले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न साथै अन्य सेवा लिनका लागि पनि नेपाली नागरिकता चाहिने भए पनि जिल्लामा पुगेर बनाउन नसक्ने भएकाले पहल गर्दा सफल भएको उहाँले बताउनुभयो । अब गाउँमै आएर नागरिकता दिँदा जनताले सेवा पाए भने अब राज्यले तोकेको सुविधा लिनका लागि पनि उनीहरुलाई सहज भएको उहाँको भनाई छ ।

Leave a Reply