म्याग्दीको बेनी नगरपालिका-४,सुर्केमेलाकी १८ वर्षीया सिर्जना जिसी विगत ८ दिनदेखि बेपत्ता छिन् । गएको जेठ १२ गते राती घरबाट निस्किएकी सिर्जना त्यसपछि परिवारको सम्पर्कमा आएकी छैनन् । जेठ १३ गते विहान साढे ५ बजे कोठामा नभेटिएपछि बुबा राजु जिसीले फोन गर्दा घरमा आउन लागेको भन्दै फोन काटेलगत्तै सम्पर्कविहिन भएकी सिर्जनाको आइतबार साँझसम्म अत्तोपत्तो छैन ।

‘घर आउँदैछु भनेर फोन भएको थियो, अहिलेसम्म फर्किएकी छैनन्,व्यापक खोजी भएपनि भेटिएकी छैनन्’ सिर्जनाका बुबा राजुले भने । उनले १३ गते विहान साढे ५ बजे छोरीसँग बोलेको केही समयपछि मोबाइल ‘स्वीच अफ’ भएको बताए ।

सम्पर्कविहिन भएको करिब ४ घण्टापछि चुत्रेनीदेखि घरसम्म आउने स्थान, म्याग्दी नदी, बनजंगल आसपासका क्षेत्रमा खोजीकार्य गरेको सुर्केमेलाका स्थानीय दिलबहादुर खत्रीले बताए । ’सबैतिर खोज्यौं, कतै पाएनौं,’’अब कता खोज्ने, कता जाने चिन्ता छाएको छ’ खत्रीले भने ।

घरमा सुतिरहेको अवस्थाबाटै घरमै लिन आएका यूवासँग गएको भएपनि यूवाले भोलीपल्ट विहान घरतर्फ लागेको बताएपछि उनलाई अहिले प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । बेपत्ता भएकी सिर्जना र यूवा बिचको सम्बन्धका बारेमा समेत परिवार अनविज्ञ छन् । प्रहरी हिरासतमा रहेका यूवाले आफुँसँगै बसेर विहान घर तर्फ गएको बताएपनि सिर्जना घरमा नपुगेपछि परिवार पिरोलिएका छन् ।

सिर्जना बिहान चुत्रेनीबाट सुर्केमेलातर्फ पैदलयात्रा गरी आउने क्रममा झोलुङे पुल आसपासमाबाट म्याग्दी नदीमा गएको एक महिलाको भनाईको आधारमा प्रहरी, आफन्त र स्थानीयबासीले खोजीकार्य गरेपनि सामान्य संकेत समेत नभेटिएको बताइएको छ । सिर्जनाको घरमा समेत कसैसँग झैझगडा थिएन ।

सम्पूर्ण आफन्त र साथीहरुलाई सम्पर्क गर्दासमेत फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय बेनीमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् । खोजिलाई तीव्रता दिए पनि कुनै जानकारी नआएको प्रहरीको भनाई छ।

जिल्ला प्रहरी कार्यालयले सँगै भएका यूवालाई नियन्त्रणमा लिएर अनुसन्धानका घेरालाई फराकिलो बनाउँदै लगेको जनाएको छ । बेपत्ता र्सिजनासँगै बसेको भनिएका यूवालाई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।

Leave a Reply